सडक दुर्घटना न्यूनीकरणमा राज्यको भूमिका प्रमुख

0
6

नेपालमा भयावह रूपमा सडक दुर्घटना बढ्दै गएको छ । विगत एक महिनाभित्र सडक दुर्घटनामा परी २० जनाभन्दा बढीको ज्यान गएको छ भने करोडौं रुपैयाँको क्षति भएको छ । परिवारका प्रियजनको अल्पायुमै, अकालमा विभत्स मृत्युु हुनु भनेको परिवारमाथिको बज्रपात हो भने राष्ट्रको ठूलो क्षति हो । सडक तथा पुलबाट बाहिर खोँच, नदीमा खस्ने, गाडी जुध्ने, अनियन्त्रित भई गाडी पल्टने, सडकयात्री सडक पार गर्दा गाडीले ठक्कर दिने लगायतले सडक दुर्घटना बढिरहेका छन् । सबै हतारमा हुन्छन् । कोही पर्खन चाहँदैन । यही नपर्खने जिताहा मनोवृत्तिका कारण सडक दुर्घटना हुने गरेको छ । हरेक दिन सडक दुर्घटनामा कसै न कसैले ज्यान गुमाइरहेकै छ ।

सडक यातायातका साधनको दुर्घटनामा दैनिक सात जनाले ज्यान गुमाउने गरेको सरकारी तथ्याङ्क छ । दुर्घटनाले ज्यानमात्रै लिँदैन, घाइते बनाएर जीवनभर कामै गर्न नसक्ने पनि बनाउँछ । दुर्घटना व्यहोर्नु परेको परिवारलाई थाहा हुन्छ यसको मानसिक आघात कति भयङ्कर र पीडादायी हुन्छ । सडक दुर्घटना प्रमुख कारण सडकको दुर्दशा पनि हो । नेपालमा जति पनि सडक छन्, गतिलो छैनन् । एक त कालोपत्रे गरेको सडक कम छ, त्यही कालोपत्रेको पनि राम्रो स्तर छैन । भत्कनु, बिग्रनु, बेलामा मर्मत नहुनु र सडकमै आहाल जम्नु सामान्य जस्तै छ नेपालमा । चालकको कमजोरी र लापरबाहीका कारणले दुर्घटना बढिरहेको छ । सडक यातायात गुडाउने शैली र संस्कारको पनि उत्तिकै कमी नेपालीमा छ । एक त सार्वजनिक यातायातका साधन हाँक्ने चालकमध्ये धेरैमा शैक्षिक योग्यताको कमी छ । चेतनाको अभाव छ । अस्वस्थ प्रतिस्पर्धाले गर्दा अस्वस्थ हँकाइले पनि दुर्घटना निम्तिरहेको छ । जहिले पनि सुनिने र दुर्घटना हुने बित्तिकै हरेक मानिसको मनमा उठ्ने भनेको चालकले मादकपदार्थ सेवन गरेका कारणले दुर्घटना भएको हो भन्ने छ । यसमा सत्यता पनि हुन्छ । यो कारण पनि सडक दुर्घटनासँग जोडिने साँचो हो ।

राज्यले सडक सुरक्षाको कुनै कार्यक्रम बनाउँदैन । सरकार केवल सडक यति निर्माण ग¥यौं र दुर्घटनामा यति मरे र यति अस्पताल भर्ना मात्र सुनाउँछ, तर त्यसको स्तर र त्यहाँ यातायात सञ्चालन र नियमन तथा कारणका बारेमा कुनै ख्याल गर्दैन । सडक यातायात दुर्घटनाको भयावहता हेर्दा सरकार संवेदनशील हुनै पर्नेछ । सडक सुरक्षाको देशव्यापी अभियान चलाउन जरुरी छ । सडक पूर्वाधारहरूलाई सुरक्षित बनाउन सकिएन भने दुर्घटना कम हुँदैन । राज्यले प्रभावकारी योजना बनाएर कडाइ साथ लागू नगर्ने हो भने नागरिकले अकालमा ज्यान गुमाइरहनुपर्छ । ट्राफिक नियमको पालना नेपालमा निकै फितलो छ । अतिले खति गर्छ भने झैं युवा उमेरका चालकमा अहम् देखिन्छ । युवामा अति आत्मविश्वास र पेलाहा प्रवृत्तिका कारणले बढ्दै गएकाले चालकलाई ट्राफिक शिक्षा दिन र कडा कानून पालना गराउन राज्य पक्ष जिम्मेवार रूपमा लाग्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here