कोशीमा आर्थिक अपराधका घटना बढ्यो

0
6

नरेन्द्र ढकाल,
बिर्तामोड ।

कतै तपाईले कसैको नाममा रकम नभएको खाताको चेक त दिनुभएको छैन् ? होस् गर्नुहोस् यदि बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गर्ला है ! कोशी प्रदेशमा पछिल्लो समय आर्थिक अपराधका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । व्यक्तिहरूमा छिटो धनी हुने अभिलाषा, गलत देखासिकी, महत्वाकांंक्षा, बढ्दो शहरीकरण लगायतले पनि यस्ता अपराध बढ्दै गएको प्रहरी अनुसन्धानका क्रममा खुलेको जनाइएको छ ।

बैंकिङ कसुर सम्बन्धी अपराध अघिल्लो वर्षको तुलनामा बढ्दै गएको हो । चालू आर्थिक वर्षको आठ महिनामा मात्रै पाँच सय ४५ वटा उजुरी दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आर्थिक वर्ष २०७७–०७८ मा ८० वटा मात्रै बैंकिङ कसुर सम्बन्धी अपराधका उजुरी दर्ता भएका थिए । उक्त समयमा १२ जना पुरुषसहित चार जना महिलालाई पक्राउ गरेर कनूनी कारबाही गरिएको तथ्याङ्कमा उल्लेख छ । उक्त समयमा ६० जना पुरुषसहित आठ जना महिला फरार रहेका थिए । वर्षेनि बैंकिङ कसुरसम्बन्धी अपराधका घटनाहरु ब्ढ्दै गएको भन्दै प्रहरीले आर्थिक अपराधका घटनामा संलग्नलाई धमाधम पक्राउ गर्दै आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बैंकिङ कसुरसँग सम्बन्धित अपराध चुनौतीको विषय बन्दै गएको प्रहरीको भनाइ छ । तीन वर्षअघि ८० वटा मात्रै मुद्दा दर्ता भएकोमा गत वर्ष २०७९–०८० मा यो संख्या बढ्ेर आठ सय १२ वटा पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कमा उल्लेख छ । आर्थिक अपराधको ग्राफ नाटकीय ढंगले उकालो लागेको देखिएको छ । पछिल्लो समय यसरी चेकमार्फत हुने कारोबारबाट ठगी बढेको छ । यसले समग्रमा बैंकिङ कसुरका अपराध बढ्न गएको प्रहरीको भनाइ छ ।

बैंक खातामा रकम नभएको चेक ‘बाउन्स’ दिनेको संख्या बढ्दा बैंकिङ कसुरका अपराध बढेका हुन् । यससँगै विशेष गरेर लेनदेन, ठगी, जालसाजी फस्टाएको र अहिले अनलाइन कारोबारको समेत दुरुपयोग गर्ने बढेकाले पछिल्ला तीन आर्थिक वर्षमा यसको संख्या बढेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ८० वटा मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७८–०७९ मा दुई सय ८२ वटा उजुरी दर्ता हुँदा २९ जना पुरुषसहित चार महिलाालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७९–०८० मा यो संख्या उच्च दरमा बढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो अवधिमा आठ सय १२ वटा उजुरी दर्ता हुँदा ६३ जना पुरुषसहित १० जना महिलालाई पक्राउ गरिएको थियो । अझै छ सय २९ जना पुरुष र एक सय ३९ जनाा महिला फरार रहेको जनाइएको छ ।

चालू आर्थिक वर्षमा पाँच सय ४५ वटा उजुरी दर्ता हुँदा ८५ जना पुरुषसहित ३४ जना महिला पक्राउ परिसकेका छन् भने तीन सय २० जना पुरुषसहित ८० जना महिला अझै फरार रहेको कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बैंकिङ कसुर तथा सजाय ऐन (पहिलो संशोधन) २०७३ ले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने, अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने, कर्जाको दुरुपयोग गर्न नहुने, बैंकिङ स्रोत साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने, ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउने लगायत व्यवस्था गरेको छ । उक्त ऐनले यो व्यवस्था विपरीतका कार्य गर्नेलाई बैंकिङ कसुर भनेर उल्लेख गरेको छ ।

पैसा नभएको खाताको चेक दिएर ठग्ने प्रवृत्ति (चेक बाउन्स) बढेकाले बैंकिङ कसुरका उजुरी तथा मुद्दा बढेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआइजी भीमप्रसाद ढकालको भनाइ छ । व्यापार–व्यवसाय, जग्गाको कारोबार गर्नेहरू देखि सबैखाले क्षेत्रबाट चेक बाउन्सका घटनामा वृद्धि भएको र कोशी प्रदेशमा समेत यस्ता घटना बढ्दै गएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, धनकुटा लगायतका जिल्लामा यस्ता घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय इन्टरनेट तथा अनलाइनबाट हुने कारोबारमा पनि बैंकिङ कसुरहरू पर्ने गरेका छन् । यस्तो अपराध बढ्नुको कारण प्रविधिको दुरुपयोग गरेर छिटो लाभ लिने मानसिकता भएकाहरूका कारण भएको भन्दै प्रहरीले अपराध गर्नेलाई कुनै पनि हालतमा नछाड्ने डीआइजी ढकालले बताए । प्रविधिको बढ्दो प्रयोग हुनु र अधिकांश अवस्थामा व्यक्ति अप्रत्यक्ष संलग्न हुने गरेको अध्ययनले देखाएको उनको भनाइ छ । बैंकिङ कसुरका ठूला–ठूला नेटवर्किङ रहेका जटिल अनुसन्धानको काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्दै आएको छ ।

यस्ताखाले अपराध रोक्न बैंक तथा वित्तीय संस्थाहरूले अत्याधुनिक प्रणालीका प्रविधिहरूको प्रयोग गर्न जरुरी भएको उनको भनाइ छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५९ हजार ६१ वटा उजुरी पर्दा बैंकिङ कसुर सम्बन्धी मात्रै २२.४८ प्रशित उजुरी दर्ता भएको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए । उनले पूर्वाञ्चलसँंग कुरा गर्दै भने–विश्वब्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण पनि पछिल्लो समय नेपालमा आर्थिक अपराधका घटनामा वृद्धि भएको अनुसन्धानबाट खुलेको छ । उनले काठमाण्डौं उपत्यकामा सबैभन्दा धेरै आर्थिक अपराधका उजुरी दर्ता भएको जानकारी दिए ।

कोशी प्रदेशमा पनि आर्थिक अपराधका घटनामा वृद्धि भएकाले त्यसलाई न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता ढकालको भनाइ छ । वित्तीय क्षेत्रहरूको कारोबारमा मन्दी आएका कारण र राज्यकै आर्थिक गतिविधि सुस्ताएकोले त्यसबाट निम्तिएको समस्या पनि प्रहरीका लागि चुनौती बनेको छ । बैकिङ कसुर सम्बन्धी जाहेरीहरू दिनप्रतिदिन बढ्दो अवस्थामा रहेकोले यस्तो समस्यामा प्रहरीलाई चुनौती थपिएको हो ।

वित्तीय अपराध नियन्त्रणका लागि बैंक, सहकारी ठगी, हुण्डी, नक्कली नोटको कारोबार, राजश्व अपचलन तथा ठगी, वैदेशिक रोजगारीमा ठगी, सुन तस्करी, बहुमूल्य पत्थर, जडीबुटी, जनावरका अवशेषको तस्करी बढ्दा चुनौती थपिएको प्रहरीले जनाएको छ । अपराधलाई विश्लेषण गरेर विभिन्न रणनीतिहरु अपनाएर भए पनि अपराधमा संलग्नहरुलााई कारबाहीको दायरामा ल्याउने प्रहरी प्रवक्ता डीआइजी ढकालको भनाइ छ ।

कसरी हुन्छ चेक बाउन्स ?

रकम नभएको चेक दिएर झुक्याउने क्रम बढ्दै गएको छ । चेक काटेर दिने व्यक्तिले लेखिए अनुसारको नगद बैंक खातामा भुक्तानीयोग्य नभएमा चेक बाउन्स हुन्छ ।

भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । यस्तो चेक नियतवश दिँदा अपराधको भागेदारी बन्नु पर्ने प्रहरीले जनाएको छ । बैंक खातावालाले चेकमा लेखिएको मिति, अंक, बेहोरा लगायतमा फरक परेमा पनि चेक बाउन्स भएको ठहर हुने बताइएको छ ।

यसैले यस्ता कुरामा ध्यान दिन जरुरी छ । चेक काट्दा धेरै सजग हुनुपर्छ । यदि चेक बाउन्स भए चेक काट्ने वा चेक जारी गर्ने ब्यक्तिले नेपालमा प्रचलित कानूनअनुसार सजाय भोग्नुपर्ने प्रहरी प्रवक्ता डीआजी ढकालको भनाइ छ ।

शुरुमा चेक बाउन्स भएको एक साताभित्र बैंकलाई खबर गरेर चेक वाहकले चेक जारी गर्नेलाई कालोसूचीमा समेत राख्न पाउँछ । कालोसूचीबाट नहटेसम्म सो व्यक्तिले बैंकमा खाता खोल्न, ऋण लिन पाउँदैन । साथै सरकारी सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्ने बताइएको छ । चेक दिएर अनुचित लाभ लिन खोज्ने तथा ठगी गर्ने मनशाय राख्नेलाई प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्न सक्ने बताइएको छ ।

अपराधका नयाँ ‘ट्रेन्ड’

प्रहरीका अनुसार आर्थिक अपराधका नयाँ ‘ट्रेन्ड’ थपिँदै गएको छ । क्रिप्टो करेन्सीदेखि अनलाइन जुवासम्म अपराधका नयाँ ‘ट्रेन्ड’ हुन् ।

प्रहरीका अनुसार अपराधका नयाँ ‘ट्रेन्ड’ हरूमा बैंकिङ कसुर, क्रिप्टो करेन्सी, साइबर अपराधहरू, अनलाइन ठगी, हनी ट्र्याप, अनलाइन जुवा, किर्ते लगायत रहेका छन् । बैंक मार्फत रकम भुक्ताानी गर्ने र प्रहरीले पक्राउ गरेका नगद फेला नपरोस् भनेर आपराधिक मानसिकता बनाउनेहरु बढेकाले त्यस विरुद्ध प्रहरीले निगरानी बढाएको प्रवक्ता ढकालको भनाइ छ ।

अनलाइन बैंकिङको ओटीपी मागेर ठगी गर्ने गरेको र नक्कली डाक्टर, नक्कली वकिल, नक्कली पुलिस, नक्कली कर्मचारी बनेर ठगी गर्नेहरू बढ्दै गएको प्रहरीले जनाएको छ ।

उनीहरुले बेरोजगार युवा–युवतीलाई निशानामा पार्ने र बैंकमा भएको रकममा आफ्नो पहुँच पु¥याउने भएकाले आाफ्नो बैंक एकाउन्टमा भएको रकम तथा मोबाइल बैंकिङमा पासवर्डहरु जो सुकै ब्यक्तिलाई नदिन पनि प्रहरीले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here