दोस्रो यू–१८ वडास्तरीय फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक

0
9

अर्जुनधारा ।

शनिश्चरे फुटबल क्लबको आयोजनामा गत माघमा सम्पन्न भएको दोस्रो यू–१८ वडास्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८०को आय–व्यय विवरण आइतबार सार्वजनिक गरिएको छ ।

अर्जुनधारा–८ स्थित क्लबको कार्यालयमा क्लबका प्रमुख प्रशिक्षक पुष्प मादेन लिम्बूको अध्यक्षता र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त क्लबका सचिव हरि गुरुङले प्रतियोगिताको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार प्रतियोगिताको जम्मा आय चार लाख ६७ हजार दुई सय ९५ रुपैयाँ, जम्मा व्यय तीन लाख ६८ हजार तीन सय ५० रुपैयाँ र जम्मा बचत ९८ हजार नौ सय ४५ रुपैयाँ रहेको छ ।

प्रतियोगिताबाट बचत भएको रकममध्ये ५० हजार रुपैयाँ क्लबले स्थापना गरेको अक्षयकोषमा जम्मा गरिने क्लबका कोषाध्यक्ष पेमा तामाङले जानकारी दिए । उक्त अक्षयकोषमा यस अघि ५५ हजार रुपैयाँ जम्मा भएको बताइएको छ ।

त्यसैगरी बाँकी रकम हाल क्लबले सञ्चालन गरिरहेको फुटबल ट्रेनिङ, टिम व्यवस्थापन र कार्यालय सञ्चालनमा खर्च गरिने बताइएको छ । फुटबल ट्रेनिङमा नौ वर्षदेखि २२ वर्ष उमेरका ६२ जना खेलाडी सहभागी रहेको कार्यक्रमका सभाध्यक्ष एवम् क्लबका प्रमुख प्रशिक्षक लिम्बूले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि आले, अर्जुनधारा–७ का वडाध्यक्ष गोविन्द खतिवडा, अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक सुरेन्द्र धिमाललगायतले क्लबले फुटबल खेलको प्रबद्र्धनसँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको उक्त प्रतियोगितालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रमको सञ्चालन सचिव गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here