झापामा हात्तीपाइले रोग निवारण अभियान शुरु

0
5

भद्रपुर।

झापामा हात्तीपाइले रोग निवारण अभियान शुक्रवारदेखि शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले शुक्रबार पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रम पश्चात् हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने अभियानको शुभारम्भ गरेको हो ।

कोशी प्रदेश सांसद छविलाल चुडाल, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्ता रोका, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायतले सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरूले औषधि खाएर अभियानको शुभारम्भ गरेका हुन् ।

झापासहित सात जिल्लामा यही बैशाख १६ गते ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम रहेको छ । झापामा औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गरेपनि बैशाख १६ गते जिल्लाका १५ वटा पालिकाका १ सय ३१ वटा केन्द्रमा एकै पटक अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।

झापा विगत १३ वर्षदेखि हात्तीपाइले रोगसँग लड्दै आएको छ । अधिकांशले औषधि सेवन नगरेका कारण झापामा सन् २०१२ देखि शुरु हात्तीपाइलेको औषधि खुवाउने अभियान अझै जारी रहेको स्वास्थ्य प्रमुख बाराकोटीले बताए । यस पटक अन्तिम अभियान बनाउन हामी सबै लागीपरेको उनको भनाइ छ ।

झापामा गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए ।
यसपटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित अन्य केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेका छन् । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकाहरूमा गए मात्र सेवा सुविधा पाउने नियम बनाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हात्तीपाइले (फाइलेरिया) रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीको सङ्क्रमणले गर्दा हुन्छ । यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । यस रोगका लक्षण तथा चिन्हहरू प्राय लामो समयपछि मात्र देखा पर्दछन् ।

मानिसको शरीरमा यस रोगको परजीवी प्रवेश गरेको ८ देखि १६ महिनामा मात्र रोगको लक्षण देखिन्छ । शुरुका अवस्थामा ज्वरो आउने, जाडो हुने, शरीरमा कम्पन आउने, लिम्फ नलीहरू सुन्निने, रातो हुने, हात गोडामा नीला काला धर्साहरू देखिने, शरीरमा भएका गिर्खाहरूको आकार बढ्ने, दुख्ने, पुरुषको अण्डकोष वरपरका नशाहरू सुन्निने, दुख्ने, दुख्नेजस्ता लक्षण चिन्हहरू देखिन्छ ।

शुरुका अवस्थामा औषधि उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुन्छ । तर समयमा उपचार नपाएमा संक्रमण भएको १०–१५ वर्षमा यस रोगको दीर्घकालीन असरहरू देखिन्छ जस्तैः खुट्टा फुलेर हात्तीको जस्तो खुट्टा हुने, हात फुल्ने, पुरुषमा हाइड्रोशील हुने, महिलाको स्तन र योनाङ्ग सुन्निने आदि हु्न्छन् । यी समस्याहरू पूर्ण रुपमा स्थायी प्रकृतिको हुन्छ अर्थात् कहिल्यै निको हुँदैन । यसले मानिसलाई कुरूप, अशक्त र अपाङ्गता गराउने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here