लापरवाहीले बढायो क्षति

0
5

झापामा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि भन्दै ट्राफिक प्रहरीले विद्यार्थीदेखि नयाँ चालक, व्यवसायी र परिचालकलाई विशेष कक्षा लिएर सचेतना दिन थालेको छ । यस क्रममा सडक यात्री तथा सर्वसाधारणलाई पनि सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै गरिएको ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । यही बैशाख महिनामा भएका दुर्घटनामा एकै दिन पाँच जनाले ज्यान गुमाएका छन् भने अन्य तीन जनाको पनि समेत दुर्घटनामा मृत्यु भएको छ । यसरी दिनहुँ भइरहेका दुर्घटनाका कारण ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने अवस्थाका बीच ट्राफिक प्रहरीले सचेतना र सक्रियता बढाएर न्यूनीकरणको प्रयास थालेको हो ।

त्यसो त सवारी दुर्घटनाका लागि चालकको लापरवाही र ट्राफिक नियमको उल्लंघन नै प्रमुख कारण हो । त्यसबाहेक सडकको दुरावस्था सवारकिो चाप, ट्राफिक जनशक्तिको अभाव र हाल स्तरोन्नति हुन थालेको सडक पनि दुर्घटनाका लागि जिम्मेवार छन् । यातायात व्यवस्था कार्यालय झापाका अनुसार आर्थिक वर्ष ०७९/०८० सम्ममा झण्डै तीन लाख सवारी दर्ता रहेका छन् । सवारी संख्याको अनुपातमा प्रति ट्राफिक प्रहरी तीन हजार बत्तीस वटा सवारीको रेखदेख गर्नुपर्ने अवस्था छ । यस्तोमा ट्राफिक जनशक्तिले सवारीको रेखदेख, अनुगमन तथा कारवाही प्रभावकारी हुन सक्दैन । त्यसैले सवारी दुर्घटना न्यूनीकरणका लागि सर्वप्रथम ट्राफिक प्रहरीको जनशक्ति बढाउनु पर्दछ ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालकलाई आर्थिक जरिवानादेखि सचेतना कक्षासम्म सञ्चालन गरिरहेको छ । तर, आफूसँग उपकरणको अभाव भएकाले मापसे जाँच गर्न चाहिने ब्रेथलाइजर पर्याप्त नहुँदा असुविधा भएको ट्राफिक प्रहरीको भनाइ छ । जानकारहरुले नै ट्राफिक नियमको पालना नगरी जथाभावी सडकको प्रयोग गर्नुले पनि दुर्घटना बढाइरहेको प्रहरीको भनाइ छ । अघिल्लो आवको यो अवधिमा उनान्सय जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए भने यो आवमा चौंसठ्ठी जनाले ज्यान गुमाइसकेका छन् । अझ यसपटक पूर्व–पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नतिको कार्य भइरहँदा, निर्माण पक्ष र सरोकारवालाले जिम्मेवार नहुँदा रातिको समयमा दुर्घटना बढ्न थालेको विश्लेषण गरिँदैछ । सडक बिस्तारका लागि सडकको दुई किनार खनिएको र निर्माण सामग्री असरल्ल हुँदा राति दुर्घटना बढेको हुनसक्छ । यस्तोमा मूल्यवान जीवनको सुरक्षा गर्नु चालक स्वयम्को जिम्मेवारी हो भने हेल्मेट नलगाउने, क्षमताभन्दा बढी सवार हुने, अनियन्त्रित चलाउने र नियम उल्लंघन गर्नेलाई दण्डित गरेर न्यूनीकरणको उपाय खोज्नु ट्राफिकको कर्तव्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here