मापदण्ड बिपरीत धमाधम सडक निर्माण

0
5

झापा,  आर्थिक वर्ष सकिन करिब तीन महिना बाँकी रहँदा सबै भन्दा ब्यस्त सडकका रुपमा रहेको इलाम स्टेण्डदेखि उत्तर कनकाई बोर्डिङ हुँदै सुब्बा चौक जोड्ने सडकको स्तरोन्नति शुरु गरिएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तरगत निर्माण हुन लागेको सो सडक दुई खण्डमा स्तरोन्नति गरिँदैछ । महानन्द चोक पूर्ब नेपाली कांग्रेस झापाको पार्टी कार्यालय जाने सडकसँंग जोडिने गरी निर्माण गर्न लागिएको सो सडक खण्डको पहिलो खण्ड नेपाल टेलिकम दक्षिण राजमार्गसम्म र अर्काे खण्ड टेलिकम उत्तर सुब्बा चौकसम्म रहेको छ । सुब्बा चौक उत्तरको सडक कालोपत्रे गरिएपनि सुब्बा चोक दक्षिणतर्फ भने पेवर्स लगाउने तयारी गरिएको छ । जसका लागि पहिलो चरणमा ढल निर्माणको काम भइरहेको छ ।


दुई खण्डमा विभाजित सडकको स्तरोन्नतिका लागि आचार्य कन्ट्रक्सन र कनकाई निर्माण सेवाले ठेक्का लिएका छन् । आचार्य कन्ट्रक्सनको काम टेलिकम– सुब्बा चोकसम्मको हो भने कनकाईको टेलिकम– राजमार्गसम्मको रहेको छ । बिर्तामोडस्थित मुक्ति चोक व्यस्त रहँदा बैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको सो सडक सघन शहरीले मापदण्ड विपरीत निर्माण गरिरहेको स्थानीयको आरोप छ । सडक निर्माण गर्नु पूर्व सडकको दुबैतर्फ सूचना पार्टी राख्नु पर्ने प्रावधान छ । तर, सामान्य सूचना पार्टी समेत नराखी सघन शहरीले सडक स्तरोन्नतिको काम अघि बढाएसंगै सघन शहरीको काम प्रति आशंका उब्जिएको स्थानीयले बताएका छन् । दुई खण्डमा स्तरोन्नति गरिने सडक संघीय सरकारको दुई करोड ८० लाख रुपैयाँको लागतमा तयार गर्न लागिएको हो । स्तरोन्नति गरिने सडकमा पेवर्स लगाउन बिर्तामोड नगरपालिकाले समेत सहजीकरण गर्दै अनुमति दिएपछि स्थानीयले त्यसको विरोध गरेका हुन् ।

यसै पनि यो सडक व्यस्त हुन्छ – बिर्तामोड –५ का स्थानीय आशिष गिरीले भने – यहीँ बीएण्डसी मेडिकल कलेज छ, देवी, कनकाई सहित तीन–तीन वटा स्कूल छन् । पूर्बकै ठूलो कृषि ब्यापारिक केन्द्रका रुपमा रहेको कृषि थोक, बुधबारे हटिया अनि नेपाल टेलिकमसमेत यही सडक अन्तरगत पर्ने हुँदा यो सडक सँधै व्यस्त हुन्छ । तर, सघन शहरीले मापदण्ड विपरीत नाला सहित ३० फुटको बाटो निर्माण शुरु गरेको छ । यो सडक मापदण्ड अनुसार बनाउने हो भने ४० फुटको हुनुपर्छ – गिरीले भने ।

बिर्तामोड नगरपालिकाले जारी गरेको सडक मापदण्ड हेर्दा नगर क्षेत्रमा निर्माण गरिने सडक ४० फुटे हुने उल्लेख छ । तर, यो सडक मुस्किलले नाला सहित ३० फुटको हुन्छ –गिरीले भने –नाला कटाउने हो भने यो सडक २४ फुटको हुन्छ । यहाँको चाप यो सडकले धान्न मुस्किल छ । त्यसो त मुक्ति चौक बन्द रहँदा पश्चिमबाट आएका सवारी र पूर्बबाट पश्चिम जाने सवारीलाई अतिथि सदन हुँदै कृषि थोक दक्षिण सोझै कनकाई रोडमा निकालेर सवारी वाइपास गर्ने गरिएको छ । अहिले साँघुरो सडकका कारण मुस्किलले दुई वटा गाडी पास हुन्छन् । अब बन्ने सडक पनि त्यस्तै बनाउने हो भने यो सडक स्तरोन्नति गर्नुको कुनै अर्थ छैन– गिरीले भने – अब बन्ने सडक कम्तीमा ४० फुट अर्थात बिर्तामोड नगरपालिकाले तयार गरेको मापदण्ड अनुसार निर्माण गरिनु पर्छ ।

सडक निर्माण शुरु गर्नु पूर्ब नै सघन शहरीले बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिसंँग संयुक्त बैठक बसेर सो सडकमा पेवर्स लगाउने निर्णय गरेको छ । नीतिगत भ्रष्टाचारमा सहज बनाउन बिर्तामोड नगरपालिकालाई समेत साक्षी राखेर सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुदीप पौडेलले चत्यु¥याँई गरेको आरोप छ । सडक स्तरोन्नतिका क्रममा प्रति पेवर्स १० रुपैयाँ कमिसन पाउने भएपछि सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख पौडेलले सो सडक कलोपत्रे गर्नुको सट्टा पेवर्स लगाउन जोड गरेको बताइन्छ ।

सडक निर्माणका विषयमा बिर्तामोड नगरपालिकामा सघन शहरीका प्रमुख पौडेलसहितको उपस्थितिमा संयुक्त बैठकले कालोपत्रेको सट्टा पेवर्स लगाउन निर्णय गरेको छ । गत पुस ६ गते नगरप्रमुख पवित्रादेवी महतरा प्रसाईको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो । जसमा कृषि थोक हुँदै खानेपानी जोड्ने सडक निर्माण गर्दा ६० देखि ८० एमएमसम्ममका पेवर्स जडान गरी निर्माण गर्ने निर्णय भएको छ ।

यस्तो पेवर्स अर्जुनधारा नगरपालिकामा रहेको विल्कन इण्डस्ट्रिजले मात्र तयार गर्ने गरेको छ । विल्कन इण्डस्ट्रिज प्रालिले उत्पादन गरेका पेवर्स प्रयोग गर्ने गरी बिर्तामोड नगरले निर्णय गरेको हुनसक्ने स्थानीयको आशंका छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले स्वार्थसहित टेण्डर आह्वान गर्दै ठेक्का लगाएको सो सडक कालोपत्रेको सट्टा केन्द्रीय नीति निर्देशन विपरीत पेवर्स प्रयोग गर्नु आफैंमा शंकास्पद हो, त्यसमा यो सडक कस्तो बन्छ, कहिलेसम्ममा बनिसक्छ, ठेक्का कसले लिएको हो ? सामान्य जानकारी समेत हुने सूचना पार्टी नराखी सडक बनाउन शुरु गर्नु बिर्तामोडवासीलाई भ्रममा पार्न खोजिएको होइन भन्दै गिरीले प्रतिप्रश्न गरे ।

त्यसो त सडक निर्माण गर्दा ४० फुटको हुनु पर्ने माग गर्दै बिर्तामोड –५ का स्थानीयवासी केशवकुमार श्रेष्ठसहित कर्ण मेचे, रोशन गिरी, विजय टुडू, उमानिधि तिवारी, विष्णु भट्टराई, कमल सापकोटा, दीपक बस्नेत, ध्रुव खनाल, ज्ञानेन्द्र भट्टराई, निकेश सुब्बा लगायतले हस्ताक्षर गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रको बोधार्थ जिल्ला अदालत झापासहित जिल्ला प्रशासन कार्यालय झापा र सघन शहरी भवन निर्माण आयोजनालाई समेत बुझाएका थिए । तर, ध्यानाकर्षण पत्रको वेवास्ता गर्दै सघन शहरीले मापदण्ड विपरीत सडकको स्तरोन्नति गर्ने निर्णय गरेको बताइन्छ ।
यता बिर्तामोड नगरपालिका –५ का वडाध्यक्ष रोहित प्रसाईले सघन शहरी तथा भवन निर्माण आयोजनासंँग महानन्द चौकसम्म जोडिने सडक खण्ड अन्तरगत हाल महानन्द चोकबाट खानेपानीसम्म निर्माण भइसकेको र सोही बरावरको चौडाइ कायम गरी सडक निर्माण गर्न माग गरेका छन् । उनले गत पुस १ गते पत्राचार गर्दै सडक निर्माणका विषयमा निर्माणकार्य अगाडि बढाउन सघन शहरी तथा भवन निर्माण आयोजनालाई आग्रह गरेका हुन् ।

स्थानीय जनप्रतिनिधिको समेत साथ पाएका सघन शहरीका प्रमुख पौडेलले आफूहरुको आवाज नसुनेको स्थानीयको आरोप छ । कमिशनको लोभमा परेर पौडेलले बिर्तामोड जस्तो संवेदनशील क्षेत्रको सडक निर्माणमा हेल्चेक्र्याँई गरेको उनीहरुको आरोप छ ।
यसैबीच सघन शहरीका प्रमुख पौडेलले सडक बिर्तामोड नगरपालिकासँग सहकार्य गर्दै स्तरोन्नति गरिने र सबै प्रक्रिया पूरा गरेर सडकको स्तरोन्नति गर्न लागिएको बताएका छन् ।
उनले सडक निर्माणका लागि सहजीकरण नगरपालिकाले गरेकोले मापदण्डको विषय नगरपालिकालाई सोध्न आग्रह गरे । हामीले सडक बनाउने हो –उनले भने – हामीलाई कस्तो मापदण्ड बिर्तामोड नगरको छ त्यो थाह छैन । दुई चरणमा निर्माण गरिने यही आर्थिक वर्षभित्र हामी निर्माण सम्पन्न गर्छौं– उनले भने ।

यो सडक आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्त भित्र सक्नु पर्ने बाध्यता छ । तर, समयमा सडक निर्माण गर्ने आधार तयार नभएको बताइन्छ । झारो टार्न हतारिँदै सडक निर्माण गरिए निर्माण कार्य नै अवरोध गर्ने स्थानीयले तयारी गरेका छन् । उनीहरुले बिर्तामोड नगरले जारी गरेको मापदण्ड भन्दा तल (४० फुट) सडकको स्तरोन्नति गरिए अवरोध गर्ने चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here