कुटनीतिक क्षमता देखाऊ

0
5

विदेशी मुद्रा आर्जन तथा राजश्व संकलनमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । पर्यटन व्यवसाय देशकै आम्दानीका दृष्टिले सबैभन्दा महत्वको क्षेत्र हो । हामीसँग भएको प्रकृति प्रदत्त भौतिक अवस्था, हिमाल, पहाड, तराईमा रहेको जैविक विविधता, हावा, पानी, वनजंगल तथा जीवजन्तुहरुको विविध पर्यटकका लागि आकर्षणका विषय हुन् । त्यसबाहेक भूगोलका आधारमा रहेको सांस्कृतिक विविधता पनि पर्यटकलाई आकर्षित गर्ने अन्य आधार हुन् । त्यसैगरी हाम्रा आध्यात्मिक तथा धार्मिक सम्पदाले पनि विदेशीहरु नेपाल आउन लालयित रहन्छन् । प्रत्येक वर्ष आउने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्कले पनि पर्यटन देशकै राजश्व संकलनको प्रमुख आधार हो ।

हाम्रा हिमालहरु पर्यटकका लागि प्रमुख आकर्षण हुन भने पहिचान हुन नसकेका अन्य गन्तव्य स्थलहरुमा पनि पूर्वाधार निर्माण गर्न सकिए पर्यटकको संख्या अझै बढ्ने थियो । विविधतापूर्ण देशको परिचय बनाएको नेपाल विश्वकै पर्यटकीय गन्तव्य मध्येको एक हो । यहाँको प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, वातावरणीय अनुकूलता र पर्यावरणीय विशेषताले पर्यटन उद्योगको सम्भावना पनि धेरै छ । पर्यटन प्रवद्र्धन मार्फत देशको ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय बचत, रोजगारीको दर, शोधनान्तर स्थिति लगायतका आयामहरु निर्माण गर्न सकिन्छ । तर, सरकारले सेवा–सुविधामा विस्तार गर्न नसक्दा अपेक्षित लाभ लिन सकिएको छैन ।

सम्भावना भएर पनि नेपालमा पर्यटन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिन सकेको छैन । पर्यटनलाई गरिबी निवारणसँग जोडेर जनताको जीवनस्तर उकास्नेतर्फ रणनीतिक कार्ययोजना नल्याउने हो भने अपेक्षित लाभ लिन सकिँदैन । त्यसका लागि सम्बद्ध निकाय प्रदेश तथा संघीय सरकारसँगै स्थानीय सरकारले पहल गर्नुपर्छ । देशकै पूर्वी प्रवेशद्वार भनिएको काँकरभिट्टा नाका हुँदै नेपाल आउने पर्यटकहरुको आगमन रोकिएको धेरै भयो । कोरोना महामारीका कारण बन्द गरिएका नाका अझै बाह्य पर्यटकलाई खुल्ला गरिएको छैन । भारतसँग छलफल गरेर नाका सुचारु गर्नेतर्फ नेपाल सरकारले चासो नदिँदा अझ भनौं कुटनीतिक क्षमता देखाउन नसक्दा नाका अझै बन्द रहेको छ । यसले भारतबाट नेपाल आउन चाहने भारत र भुटान बाहेकका नागरिक उतै फर्किनु परेको छ । त्यसलाई तत्काल समाधान गर्दै नेपालमा पर्यटकका लागि सेवासुविधा बढाएर पर्यटकलाई ल्याउने वातावरण बनाउन राज्यले पहल गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here