दुर्घटना कम गर्न ट्राफिकको पाँच मिनेट

0
7

नेपालीको आयस्तर र भौतिक सेवा–सुविधामा वृद्धि भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । यसबेला प्रत्येक घरमा सवारीका साधन उपलब्ध छन् । डाँडाकाँडा, पाखापर्वत, हिमालपहाड प्रायः सबैतिर सडक सञ्जाल पनि जोडिएको छ । सडक खोल्ने, स्तरोन्नति हुँदै कालोपत्रे गर्नेसम्मका विकासका गतिवधि सञ्चालन भइरहेका छन् । यसले ती सडकमा गुड्ने सवारीहरुको संख्यामा पनि बढोत्तरी हुँदै जाँदा अकालमा मृत्युवरण गर्नुपर्ने कारणले परिवारको पीडा पनि थपिँदै गएको छ । यो अवस्था कुनै एक जिल्ला, क्षेत्र वा भूगोलको मात्र नभएर सम्पूर्ण देशमै रहेको दिनहुँ सार्वजनिक भइरहेका समाचारहरुले देखाएका छन् ।

यही मेसोमा झापा पनि सवारी दुर्घटनाको पीडाबाट अछुतो छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले आर्थिक वर्ष ०८०–०८१ को नौ महिनाको अवधिमा झापामा भएका दुर्घटनामा ५३ जनाको मृत्यु भएको जनाएका छन् । चार सय ६३ वटा सवारी दुर्घटना हुँदा आधाभन्दा बढी अर्थात् दुई सय ८८ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । यात्रा सुरक्षित होस् भन्नका लागि ट्राफिक प्रहरीले सडक चेकजाँच नियमित गरिरहेको छ, सचेतना कक्षा लिइरहेको छ र दुर्घटना न्यूनीकरणका विभिन्न उपाय अवलम्वन गरिरहेको छ, तर दुर्घटना र त्यसले गर्ने मानवीय, भौतिक तथा आर्थिक क्षति कम हुन सकेको छैन ।

सवारी दुर्घटनाका विविध कारणहरु छन् । सडकको अवस्था, ट्राफिक नियमको पालना नहुनु, तीव्रगति, मापसे गरी सवारी चलाउनु, सवारीको चाप र चालकको लापरवाही दुर्घटनाका प्रमुख कारण हुन् । त्यही कारण दुई पाङ्ग्रे सवारी चालकलाई लक्षित गरी ट्राफिक प्रहरीले झापाको पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ‘ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरेको छ । ट्राफिकले सडकमै सवारी रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षा सम्बन्धी प्रशिक्षण दिने गरेको छ । मोटरसाइकल चलाउने अनुमति नभएका, उमेर नपुगेका, नियमको पालना नगरेका थुप्रै चालकहरु सडकमा निस्कँदा हुने दुर्घटना नै हो । त्यसैले त्यसबाट जोगिन चालक स्वयम् सचेत र जिम्मेवार हुनुपर्छ । त्यसै पनि ट्राफिकसँग जनशक्तिको अभाव छ, त्यसमाथि बढ्दो सवारी चाप र अनियन्त्रित गतिले निम्त्याउने अकाल मृत्युको सम्भावनालाई न्यूनीकरण गर्न गाह्रो हुन्छ । यस्तोमा ट्राफिकको अभियानसँगै चालकले सजग हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here