साइकल पाउँदा फुरुङ्ग: बाह्रदशीका विद्यार्थीलाई निःशुल्क साइकल

0
6

झापा।

बाह्रदशी–६ निवासी आकृति गिरी हिँडेर विद्यालय आउँछिन् । पञ्चमणि माध्यमिक विद्यालयमा कक्षा १०मा अध्ययनरत् गिरी घर नजिकै विद्यालय भएर हिँडेर विद्यालय जाने गरेकी भने होइनन् । विद्यालय आउन जान साधन नहुँदा हिँड्नुको विकल्प नभएपछि गिरी ९ कक्षा अध्ययन पूरा नगरुञ्जेल हिँडेरै विद्यालय जाने गर्थिन् ।

बाह्रदशी गाउँपालिका–६ र बिर्तामोड नगरपालिका–२को सीमानामा पर्ने चिया बगान छिचोल्दै गिरी सोमवार पनि विद्यालय गइन् । कक्षा सञ्चालन हुनुअघि भएको ‘प्रेयर लाइन’ मा प्रधानाध्यापक वेदकुमार खरेलले कक्षा ९ उत्तीर्ण हुने सबै विद्यार्थी र कक्षा ५ देखिमाथि कक्षा ८ सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई आफूसंगै वडा कार्यालयमा साइकल लिन जानुपर्छ भन्दा अचम्म परेकी गिरीले वडा कार्यालयले प्रदान गरेको साइकल पाएसँगै खुशी हुँदै भनिन्– अहा ! अब त म पनि साइकलमा स्कूल आउन पाउने भएँ ।

गिरीलाई बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँई र वडाध्यक्ष रत्नप्रकाश योङ्हाङ्ले संयुक्त रुपमा साइकल प्रदान गरेका थिए । साइकल पाएसंगै खुशी मुद्रामा देखिएकी गिरीले वडा कार्यालयबाट प्रदान गरिएको साइकल लिँदै भनिन्– यो साइकल जतन गरेर चलाउँछु । यही साइकल कुदाएर म ११/१२ पनि पढ्न स्कूल जान्छु ।

वडा कार्यालयले प्रदान गरेको साइकल पाउँदा विद्यार्थी मात्रै खुशी देखिएनन्, उनीहरुका अभिभावक समेत खुशी थिए । आफ्ना नानीले साइकल पाएको भन्दै वाह्रदशी–६ स्थित मतीगढाकी सम्झना लिम्बू पनि खुशी देखिइन् । मेरी छोरीले पनि वडा कार्यालयबाट साइकल पाइन्, अब स्कूल आउनजान सजिलो हुने भयो– लिम्बूले भनिन्– मेरा दुई भाइ छोरा र एक बहिनी छोरी छन् । साइकल पाउने छोरी ठूली हो । उनी अहिले १०मा पढ्छिन् । घरमा साइकल थिएन, झण्डै २० मिनेट हिँडेर नानीहरु स्कूल जान्थे, अब सजिलो हुने भयो– लिम्बूले भनिन्– वडा कार्यालयले नसोचेको काम गरेको छ, वडाको कामप्रति म खुशी छु ।

बाह्रदशी गाउँपालिका–६ले गिरी र लिम्बूलाई मात्र साइकल प्रदान गरेको भने होइन । वडामा रहेको पञ्चमणि माध्यमिक विद्यालयमा अध्ययनरत् उत्कृष्ट, लगनशील, गरीव तथा जेहेन्दार बिद्यार्थीसहित कक्षा ९ उत्तीर्ण हुने २४ जना विद्यार्थीलाई साइकल वितरण गरिएको हो । त्यस्तै चार जना महिला स्वास्थ्य स्वयम्सेविकालाई समेत वडा कार्यालयले साइकल प्रदान गरेको छ । साइकल पाउने महिला स्वास्थ्य स्वयम्सेविकाहरुमा रीता शिवाकोटी, सीता पाठक, दिलमाया राई र भगवती कँडेल रहेका छन् ।

विद्यार्थीलाई साइकल प्रदान गरिएसँगै शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यार्थीले साइकल पाएपछि पढाइप्रति अभिरुची जाग्ने र नियमित विद्यालय आउने पञ्चमणि माध्यमिक विद्यालयका प्रधानाध्यापक खरेलको भनाइ छ ।

त्यसो त बाह्रदशी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि थुप्रै कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई साइकल वितरणदेखि कक्षा ११÷१२ को पढाई निःशुल्क, राजगढ सामुदायिक क्याम्पस स्थापना र त्यहाँ अध्ययनरत सबै विद्यार्थीलाई सहुलियतमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको गाउँपालिका अध्यक्ष चम्लागाँईले बताए ।

वाह्रदशी गाउँपालिकाले सिकाइलाई प्रविधिमैत्री बनाउँदै लगेको बताएका गाउँपालिका अध्यक्ष चम्लागाँईले भने– विद्यार्थीको पढाइ राम्रो बनाउन विद्यालयको बातावरणले मात्रै पुग्दैन, उनीहरुको आवश्यकतालाई समेत हामीले बुझ्न सक्नुपर्छ । विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज होस् भनेर हामीले उनीहरुलाई साइकल प्रदान गर्न शुरु गरेका हौं । आगामी वर्ष पनि यो कार्यक्रमले निरन्तरता पाउँछ– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here