बिर्तामोडका सूर्यबहादुरले अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गरेपछि…

0
2

काठमाडौँ,

भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम घर भई बिर्तामोड झापा बस्ने सूर्यबहादुर समाल मगर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनी विदेशबाट आएको दोस्रो दिन जेठ २ गते आफू लुटिएको भनी घाउचोटसहित ललितपुरको गोदावरीस्थित सडकको नालीमा बसेको अवस्थामा भेटिएका थिए ।

उद्धारका लागि गएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा नाटक गरेको पत्ता लागेपछि प्रहरी नै छक्क परेको थियो । अनुसन्धान टोलीले उनीसँग सोधपुछ गर्दा जेठ १ गते बिहान कतारबाट फर्किएको र राजस्व छली गरी ल्याइएको सुन सोही दिन झापाको बिर्तामोडस्थित घरमा पुर्याएको बयान दिएका छन् ।

त्यसपछि सुन आफ्नो बनाउने योजना बुनेर उनी जेठ २ गते जहाजमार्फत काठमाडौँ आई ललितपुरको गोदावरीस्थित सडक किनारको नालीमा बसेका थिए । अपरिचित व्यक्ति घाइते अवस्थामा लडिरहेको भन्ने सूचना आएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनलाई उद्धार गरी नमस्ते मेट्रो अस्पतालमा प्राथमिक उपचार गरेको थियो ।

सोही दिन प्रहरीमा ल्याएर अनुसन्धान गर्दा आफूले आफैँलाई शरीरमा चोटपटक लगाई हातखुट्टा बाँधेर गोदावरीस्थित सडक किनारको नालीमा बसेको भेटिएको रेग्मीले बताउनुभयो ।

उक्त सुन इलाका प्रहरी कार्यालय, अनारमनी बिर्तामोड झापाको समन्वयमा निजको घर कोठाको खानतलासी गरी बरामद गरिएको छ । उनका साथबाट सुनको ब्रासलेट एक थान, सुनको बेरुवा औँठी एक थान, मोबाइल एक थान र ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here