‘पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ’

0
4

काठमाडौँ,

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताउनुभएको छ ।

महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताउनुभयो । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न आग्रह गर्दै उहाँले निर्वाचन समिति गठन गरी समितिले कार्य प्रारम्भ गरिसकेको जानकारी दिनुभयो ।

महासङ्घको गत वैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न २७औँ राष्ट्रिय महाधिवेशनले केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि मिति निर्धारण गरेको थियो । सदस्यता शुद्धीकरणले अन्तिम रुप नलिइसकेकाले समयमा निर्वाचन हुन नसक्ने आशङ्का गरिएको थियो ।

कार्यक्रममा महासङ्घका पूर्वसभापति तथा वक्ताहरुले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, स्वतन्त्र र जिम्मेवार बनाउन नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले महासङ्घमा दलीय निकटताका आधारमा भागबण्डा खोज्ने प्रवृत्ति गलत भएको पनि बताउनुभएको थियो ।

पूर्वसभापति हरिहर विरही, विष्णु निष्ठुरी, डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, वर्तमान सल्लाहकार निर्मला शर्मालगायतले महासङ्घलाई साझा र व्यावसायिक पत्रकारको छाता संस्थाकारुपमा कायम राख्न आग्रह गर्नुभएको थियो ।

साधारणसभाबाट साङ्गठनिक र आर्थिक प्रतिवेदनका साथै पत्रकारितालाई शुद्धीकरण गर्नेलगायत विभिन्न घोषणापत्र पारित गरेको छ । सो प्रदेश कमिटीको अधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here