रोङमा रोङ गट ट्यालेन्ट हुने

0
16

इलाम ।

इलामको रोङ गाउँपालिकामा प्रतिभा खोजी अन्तरगत रोङ गट ट्यालेन्ट कार्यक्रम हुने भएको छ । गाउँपालिकाको रोङ प्रतिभाको खोजी अन्तरगत यस कार्यक्रम हुन लागेको हो ।

रोङ प्रतिभाको खोजी अन्तरगत गायन, नृत्य र साहित्य क्षेत्रको प्रतिभालाई समुदायमा उजागर गर्न रोङ गट ट्यालेन्ट कार्यक्रम आयोजना गर्न लागिएको हो । रोङ प्रतिभाको खोजी निर्देशक समितीको आयोजना, रोङ गाउँपालिकाको आर्थिक सहयोग र रोङ विद्यार्थी एकता समितिको सहआयोजनामा कार्यक्रम गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको हो ।

गायन, नृत्य र कविता लेखनमा अब्बल प्रतिभालाई अवसर दिन यो कार्यक्रम आयोजना गरिएको रोङ प्रतिभा खोजी निर्देशक समितिका संयोजक प्रमेश राईले जानकारी दिए । ‘गाउँ–गाउँमा प्रतिभाहरू लुकेर रहेका छन् । यस्ता प्रतिभाको प्रष्फुटनका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘यो कार्यक्रमले गाउँमा लुकेका प्रतिभालाई राष्ट्रसामु चिनाउनेछ । रोङमा रहेका स्थापित प्रतिभाहरूले सम्मानित हुने मञ्च पाउनेछन् । नयाँ प्रतिभाका लागि परिचित हुने अवसर हुनेछ ।’

प्रतिभा खोजी चार चरणमा हुने आयोजकले जनाएको छ । प्रारम्भिक चरणमा रोङभित्रका ६ वटै वडाबाट प्रतिभा छनोट हुने छन् । त्यसका लागि वडामा अडिसन राखिने निर्देशक समिति सदस्य गृष्मा सापकोटाले जानकारी दिइन् । यसका लागि इच्छुकले ९ जेठबाट १६ जेठसम्म वडा कार्यालय पुगेर फारम भर्न सक्ने छन् ।

यस्तै, पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछ । त्यस चरणमा ६ वटा वडालाई तीन समूहमा विभाजन गरेर प्रत्येक समूहबाट तीनवटै विधामा १५÷१५ जना गरी एउकटा विधामा ४५ जना छनोट हुने सापकोटाले बताइन् । दोस्रो चरणमा प्रत्येक विधामा १५÷१५ जना प्रतिभा छनोट हुनेछन् ।

यसलाई सेमीफाइनल चरण भनिने आयोजकले जनाएको छ । अन्तिम चरणलाई फाइनल चरण भनिनेछ । यसमा प्रत्येक विधामा ५÷५ जना प्रतिभा छनोट गरेर उत्कृष्टलाई पुरस्कृत गरिनेछ । तीनवटै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पाउने आयोजकले जनाएको छ । कार्यक्रममा निर्णायक भने रोङ बाहिरका हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि ११ लाख ६२ हजार पाँच सय बजेट लाग्ने आयोजकको अनुमान छ । जसमध्ये गाउँपालिकाले आठ लाख रकम ब्यहोर्नेछ । बाँकी प्रायोजकबाट खोज्नुपर्नेछ । ‘विकास भनेको भौतिक पूर्वाधारको विकास मात्र हैन । यहाँका प्रतिभाको खोजी गरेर उनीहरूलाई प्रष्फुटन गर्नु पनि विकास हो ।

मानव जीवनको समग्र पक्षको विकास हुनुपर्छ भन्ने गाउँपालिकाको निष्कर्ष हो,’ रोङकी उपाध्यक्ष विष्णुमाया भुजेलले भनिन्, ‘गाउँमा पुग्दा धेरै राम्रा प्रतिभा हामीले देखेका छौँ । उनीहरूलाई बाहिर ल्याएर राष्ट्रसामु चिनाउनु गाउँपालिकाको दायित्व पनि हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here