एमाले कनकाईमा ओझा

0
7

सुरुङ्गा।

नेकपा एमाले कनकाई नगर कमिटीको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् ।

पञ्चायतकालदेखि नै वामपन्थी राजनीतिमा आबद्ध ओझा पूर्व जनप्रतिनिधि पनि हुन् । पुराना र नयाँ दुवै पुस्ताका कार्यकर्ता र समर्थकमाझ उत्तिकै लोकप्रिय ओझा अझ मेहेनत, समर्पण भावका साथ पार्टीको प्रभाव विस्तार गर्ने बताउँछन् ।

आफ्नो विजयका लागि सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै उनले यो विजयले आफूलाई थप उत्साहित बनाएको बताए । उनलेे पार्टीलाई एकताबद्ध बनाउँदै एमाले नेता तथा कार्यकर्तालाई जनमुखी हुन र जनपक्षीय काम गर्न आवश्यक कार्यक्रम ल्याउने बताए ।

बुधबार भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । स्थानीय स्तरमा विभिन्न संघसंस्थाको नेतृत्व तहमा रहेर अभिभावकत्व निर्वाह गर्दै आएका यस क्षेत्रका पुराना वामपन्थी नेता मध्येका एक मानिने ओझा आयोजक समितिका संयोजक समेत हुन् । ओझाको नेतृत्वमा आएको एमाले कनकाई नगर कमिटीले पार्टी सुदृढीकरण साथै संगठन विस्तारमा थप भूमिका खेल्ने विश्वास गरिएको छ ।

ओझाको प्रतिस्पर्धीका रुपमा रहेका छबिलाल थपलियाले २०४ मत प्राप्त गरेका छन् भने अर्का प्रतिष्पर्धी तुलाराम बस्नेतले १४८ मत प्राप्त गर्न सफल भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा घनश्याम पौडेलले १८१ मत प्राप्त गर्दै विजयी बनेका छन् । उपाध्यक्षका अन्य प्रत्यासीहरु क्रमशः इन्द्र पुलामी मगरले ८४ मत, ऋषिकेश खतिवडाले १२४ मत, देवीप्रसाद उप्रेतीले १४१ मत र प्रेमबहादुर कटुवालले १५० मत प्राप्त गर्न सफल भए ।

त्यस्तै सचिव पदका लागि एमालेका युवा नेताका रुपमा परिचित प्रकाश शिवाकोटीले २९५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरु क्रमशः विश्वविजय खरेलले १५९ मत, मिनाल तिम्सिनाले १०२ मत र खिनमाया आचार्य खतिवडाले ९७ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

त्यस्तै उपसचिव (पुरुषतर्फ) मा ख्यामप्रसाद ओलीले ३९१ मत प्राप्त गर्दै विजयी बनेका छन् । कनकाई सामुदायिक वनको अध्यक्ष समेत रहेका ओली होटल व्यवसायी संघ झापाका उपाध्यक्ष पनि हुन् । उनका प्रतिष्पर्धी शुक्रराज भण्डारीले १८५ मत र नविनकुमार राईले ६६ मत प्राप्त गर्न सफल भएको बताइएको छ । महिला उपसचिवमा राधिका ओली कडरियाले सर्वाधिक मत ४७९ ल्याएर विजेता बनेकी छन् ।

उनका प्रतिस्पर्धीका रुपमा रहेकी विन्दा थापाले १६४ मत प्राप्त गर्न सफल भएको निर्वाचन समिति संयोजक तारादेवी बाराकोटीले जानकारी दिएकी छन् । निर्वाचनमा जम्मा ६८१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

बुधबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म भएको निर्वाचनमा प्रतिनिधिका रुपमा कुल ७९२ मतदाता रहेका थिए । निर्वाचनकालागी सहजीकरण गर्न अधिवक्ता तारादेवी बाराकोटी संयोजक, जिल्ला कमिटी सदस्यहरू रोशन सुवेदी र दीपक चापागाईं सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले अन्य केही सहयोगी सदस्य साथमा लिएर मतगणना सहितको निर्वाचनको काम शान्तिपूर्ण रुपमा सम्पन्न गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here