गर्मीमा रक्तदान गर्दा कुनै असर गर्दैन : चिकित्सक

0
5
नारायणगढ, 
जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो ।
डा पौडेलले हाल अस्पतालमा उपचार गर्न आएका रगत चढाउन अत्यावश्यक बिरामीका लागि रगत अभाव देखिएको जानकारी दिनुभयो ।  उहाँले नियमित रक्तदाताको कमी हुँदा रगत अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रक्तदाताले गर्मीको बेलामा रक्तदान गर्दा कतै स्वास्थ्यमा अफ्ठ्यारो पर्ने होकी भन्ने सोचाइले रक्तदान गर्न डराएको भन्ने भान परेको छ । रगत सङ्कलन नहुँदा अभाव भएको हामीले बुझेका छौँ ।”
रक्तदानअति महत्वपूर्ण भएको भन्दै उहाँले रगत दिन मिल्ने सबै उमेर समूहकालाई रक्तदान गर्न आग्रह गर्नुभयो । कुनै रोग विशेषका कारणबाहेक अन्य परिस्थितिमा १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले रक्तदान गर्न मिल्ने डा पौडेल बताउनुहुन्छ ।
उहाँले थप्नुभयो, “जटिल प्रकारका रोगबाहेक महिला पुरुष दुवैले रक्तदान गर्न मिल्छ । महिलामा विशेष परिस्थिति हुन्छ, जस्तै महिनावारी, गर्भवती, सुत्केरी एवं स्तनपान गराउनेबाहेक अन्यले रक्तदान गर्न मिल्छ । बच्चा जन्मेको नौ महिनापछि रक्तदान गर्न मिल्छ । कुनै दीर्घरोग वा अन्य विशेष परिस्थितिमा रक्तदान गर्न मिल्दैन त्यो फरक पाटो हो ।”
नियमित रक्तदान गर्ने रक्तदाता यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा पौडेलले भन्नुभयो, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन ।” एक स्वस्थ व्यक्तिले जस्तोसुकै मौसममा पनि रक्तदान गर्न मिल्ने र गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै खराबी नहुने उहाँको भनाइ छ ।
उहाँले गर्मीको समयमा बढी पसिना आउने कमजोरी भएको महसुस गर्ने,  रिंगटा वा चक्कर आउने जस्ता समस्या हुने भन्दै प्रशस्त मात्रामा पानी, फलफूल तथा झोलिलो पदार्थ सेवन गर्न आग्रह गर्नुभयो । कमजोरी हुन्छु की, प्रेसर घट्छ की भन्ने कुरा मनैबाट हटाएर उहाँले मिल्ने जतिले रक्तदान गर्न अनुरोध गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here