झापाका दक्षिणी क्षेत्र डुबानमा

0
6

झापा ।

लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ ।

असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ । झापा–२ सुगाबथान टोल नजिकमा स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् ।

शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू अत्यधिक वर्षाका कारण जोखिममा छन् । झापाका यी स्थानीय तह बाढीबाट बर्सेनि पीडित बन्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार वर्षाका कारण डुबान भएका क्षेत्रको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here