सूचनाको हक प्रयोग गर्ने चार अभियानकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएकामा महासङ्घको आपत्ति, छानबिन गरी व्यहोरा पेश गर्न आयोगको जिल्ला प्रशासनलाई पत्र

0
5

काठमाडौँ, संविधान एवं कानुनमा उल्लेख भए अनुसार सूचना माग गर्ने अभियानकर्मीलाई प्रहरीले पक्राउ गरी विभिन्न नाममा मुद्दा चलाइएकामा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले देशभरका अभियानकर्मीको ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका अध्यक्ष उमीद वागचन्द र महासचिव अजयकुमार साहले आज जारी गर्नुभएको विज्ञप्तिमा जिल्ला कार्य समिति काठमाडौँका सदस्य अश्मिता खत्री, महासङ्घ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री र सूचनाको हकका अभियानकर्मीद्वय राजु सुनार र प्रेम श्रेष्ठलाई सूचना माग गरेर आतङ्कित गरेका कारण पक्राऊ गरेको भनी प्रचार गरेकामा आपत्ति जनाउनुभएको हो । अनियमितता, भ्रष्टाचार र बेथिति भएका विषयमा सूचना माग गरी सार्वजनिक गर्दा यस्तो आरोपमा पक्राउ गर्नु निन्दनीय रहेको महासङ्घले जनाएको छ ।
चारै जना अभियानकर्मीलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानबाट सोमबार पक्राउ गरेको थियो । वृत्तका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले भने जिल्ला अदालत काठमाडौँको पक्राउ पुर्जी प्राप्त भएकाले चारै जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । चारै जनालाई आजै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।
सूचना माग्न पाउनु नागरिकको संवैधानिक र कानुनी हक भएको उल्लेख गर्दै महासङ्घले सूचना मागेकै कारण प्रहरीले पक्राउ गर्नु विधिको शासनविपरीत भएको विज्ञप्तिमा उल्लेख गरेको छ । सूचना माग गर्नेले कानुनविपरीत कुनै कार्य गरेका छन् भने निष्पक्ष छानविन गरी कानुनअनुसार कारवाही गर्न पनि महासङ्घका अध्यक्ष वागचन्दले माग गर्नुभयो । सूचना माग गरेकै कारण पक्राउ गरेको भन्ने हास्यास्पद तर्क कानुन सम्मत नभएको उल्लेख गर्दै महासङ्घले घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रिय सूचना आयोगसमक्ष समेत माग गरेको जनाएको छ ।
पक्राउ परेका चारै जनालाई निःशर्त तत्काल रिहाईको लागि महासङ्घले माग गरेको छ । सूचना माग गरेकै आधारमा पक्राउ गरेर नागरिकलाई प्रश्न गर्नेलाई तर्साएर अनिमियतता र भ्रष्टाचारलाई बढावा दिन खोजेको हो भने महासङ्घ कडा आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । महासङ्घले आजै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेट गरेर यस सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको पनि अध्यक्ष वागचन्दले जानकारी दिनुभयो । महासङ्घले यस विषयमा प्रहरी वृत्त बौद्ध र जिल्ला सरकारी वकिलको कार्यालय पुगेर आवश्यक जानकारी लिएको जनाएको छ ।

यथार्थ विवरण पेश गर्न राष्ट्रिय सूचना आयोगद्वारा जिल्ला प्रशासनलाई पत्र

राष्ट्रिय सूचना आयोगले सूचना माग गरेकै आधारमा अभियानकर्मी पक्राउ परिएको घटनाको यथार्थ व्यहोरा पठाउन पत्राचार गरेको छ । आयोगका सचिव होमप्रसाद लुइँटेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आज लेखेको पत्रमा घटनाका विषयमा छानबिन गरी, गराई यथार्थ विवरण पेश गर्न पत्राचार गर्नुभएको हो ।–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here