नागरिकको भरोसा नटुटोस्

0
5

जल तथा मौसम विभागको पूर्वानुमान जस्तै पूर्वी नेपालमा वर्षासँगै बाढी र पहिरोका घटना बढ्न थालेका छन् । वर्षाको समयमा पानी पर्नु स्वभाविक र नियमित प्रक्रिया हो, तर विश्वमै हावापानीको चक्रमा फेरबदल आएका कारण यस्ता प्राकृतिक विपद् अनियमित जस्तै बन्न थालेको छ । यद्यपि यसका लागि मानवीय गतिविधि जिम्मेवार रहेको छ, तर पनि त्यसले गर्ने क्षतिलाई कम गर्न, रोक्न र पीडितलाई राहत तथा उद्धार गर्न राज्यले सक्रियता देखाउनु पर्दछ । राज्य जनताद्वारा अनुमोदित प्रतिनिधिहरुको संयुक्त रुप हो, जसलाई सरकार भनिन्छ । सरकार त्यसैले सर्व वर्ग, जाति वा भूगोलमा बस्नेहरु प्रति जवाफदेही हुनै पर्छ ।

जेठको अन्तिम साताबाट भित्रिएको मनसुनले मौसम विभागले भने जस्तै कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा ठूलो क्षति गरिसकेको छ । अहिलेसम्ममा हिमाली जिल्ला ताप्लेजुङमा वर्षासँगै गएको पहिरोमा परी पाँच जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी बाढीले पुल बगाउँदा ठूलो भौतिक क्षति भइसकेको छ । उता संखुवासभामा समेत पहिरोमा परी केही व्यक्तिको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मौसम विभागले सतर्क रहन, राहत तथा उद्धारमा तदारुकता देखाउनुपर्ने संकेत गरिसकेको भए पनि बाढी–पहिरोबाट क्षति भएका पीडितहरुले सरकारको उपस्थितिको अनुभूति गर्न नपाउनु दुःखद् अवस्था हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले यसअघि नै ९९ वटा वडा कुनै न कुनै प्रकारको जोखिममा रहेको जनाएको छ । ती मध्ये कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै वटा प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उसको तथ्यांकले देखाएको छ । विपद्हरु मध्ये सबैभन्दा धेरै बाढी र पहिरो कै जोखिम रहेको उसको अनुसन्धानको निष्कर्ष छ । यस्तोमा सरकार, गृहमन्त्रालय लगायतका जिम्मेवार निकायले सम्भावित विपद्को प्रतिरक्षा, उद्धार तथा राहतका निम्ति तदारुकता देखाउनैपर्छ । अन्यथा जनतामा सरकारप्रति आस्था टुट्न सक्छ र उसँगको भरोसा नरहन सक्छ । यसतर्फ सरकार सचेत होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here