पाँच वर्षमा पनि बनेन सडक

0
20

उर्लाबारी ।

मोरङको पथरी शनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।

२०८० साल गत भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने सडक तोकिएको मिति गुज्रिएर १० महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गलाई विराटनगर–रङ्गेली–आमबारी हुँदै झापाको भद्रपुरसँग जोड्ने हुलाकी सडकसँग जोड्ने यो सडक २०७६ साल कात्तिकमा ठेक्का लागेको थियो ।

सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरीले एक अर्ब ५५ करोड ७३ लाख रुपैयाँमा कान्छाराम कन्स्ट्रक्सनलाई निर्माणको ठेक्का दिएको थियो । २८ किलोमिटर लामो यो सडक निर्माण गर्न स्थानीयले ठूलो योगदान गरेका थिए । जिल्लाकै नमूना सडकका रूपमा निर्माण हुने भएपछि स्थानीयले मुआब्जा नलिई सडकलाई जग्गा प्रदान गरेका थिए ।

नालासहित २१ मिटर चौडाइको सडकमा १३ मिटर कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे । तर पाँच वर्ष बित्न लाग्दा पनि सडक कालोपत्रे नभएपछि स्थानीय बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा हिँड्न बाध्य छन् ।

भइरहेको सानो सडक भत्काएर ठूलो सडक बनाउने योजना आएपछि स्थानीयमा खुसी छाएको थियो । ७९ वर्षीय छवीन्द्रमानसिंह कार्कीले भने– सडकको चौडा बढाउने भनेपछि ७६० फिट मुख रहेको जग्गाको झण्डै पाँच कट्ठा जग्गा दिएको तर पाँच वर्ष पूरा हुँदा पनि सडक बनेको छैन । हिउँदमा धुलो र वर्षायाममा हिलो खेप्नु परेको छ । महेन्द्रचोकमै होटल व्यवसाय गर्दै आएका यादव अधिकारीले भने – हिलो र धुलोका कारण व्यापार हुन छोड्यो । सडक नजिकैका घरमा मात्र होइन,कोठा चोटामा समेत धुलो र हिलो खेप्नु परिरहेको छ ।

२८ किलोमिटर लामो यो सडकले मोरङका पथरी शनिश्चरे, सुनवर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको चोप्राहा जोड्छ । नेपाल–भारतको व्यापारसँग जोडिएको यो सडक निर्माण नहुँदा स्थानीयले वर्षौंदेखि ठूलो सास्ती खेप्नु परिरहेको छ ।

रङ्गेली नगरपालिका–७ स्थित भोटुबाबु चोकदेखि सुनवर्सीको टकुवा सीमासम्म अझ कम काम भएको स्थानीय सत्यनारायण साहले बताए । सडक निर्माणका लागि भोटुबाबु चोकदेखि सुनवर्सीको सीमानासम्म नगरपालिकाले ५२ फिट सडक निर्माणका लागि सम्पूर्ण घरटहरा हटाएर पूर्ण रूपमा खाली गराए पनि सडक बन्न सकेको छैन । दिनहुँ आवतजावत गर्ने विद्यार्थी तथा ससाना बालबालिकालाई समस्या पर्ने गरेको अभिभावक सम्पत राजवंशीले बताए ।

निर्माण कम्पनीले काम नगरेपछि पथरी शनिश्चरे नगरपालिकाको सभा कक्षमा मोरङका प्रमुख जिल्ला अधिकारीसहितको टोलीसँग निर्माण कम्पनीले काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जेठ १२ गते भएको सम्झौता अनुसार काम थालेको स्थानीय पर्शुराम कार्कीले बताए ।

तर कान्छाराम कन्स्ट्रक्सनका फिल्ड इञ्जिनियर विमलेश यादव सरकारले समयमा भुक्तानी दिन नसकेकाले काम रोकिएको बताउँछन् । उनले भने –४० प्रतिशत भौतिक प्रगति भइसकेको छ । सरकारले ३० करोड रुपैँयाँ मात्र भुक्तानी गरेको छ । उनले दुई करोड ५० लाख रुपैँयाँ भुक्तानी लिन बाँकी रहेकोमा असार ७ गते ७० लाख रुपैयाँ प्राप्त भएको बताए । पछिल्लो पटक ५० लाख रुपैयाँको बिल पेश गरिएको र भुक्तानी रोकिएन भने थपिएको म्याद २०८२ सालको असार मसान्तभित्र सडक जिम्मा लगाउने उनले बताए ।

सडक निर्माणका लागि बिजुलीका पोल र सडक क्षेत्रमा पर्ने रुख पनि बाधक भएको इञ्जिनियर यादवको भनाइ छ । सडक क्षेत्रका बिजुलीका पोल सार्न ५० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक लागत अनुमान थियो तर विद्युत् प्राधिकरणले एक करोड ५० लाख रुपैयाँ खर्च हुने देखाएको छ । सरकारले समयमा रकम निकासा नगर्दा सडक निर्माणको लागत खर्चसमेत २० प्रतिशतले बढ्ने यादवको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here