परम्परागत बीउले धान उत्पादन बढेन

0
1

बलेवा (बागलुङ),

यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताउनुभयो । अझैपनि अधिकांश स्थानमा मुल नै नफुटेको, सिँचाइका लागि कुलो तथा नहर सञ्चालनमा आउन नसकेका कारण रोपाइँ कम भएको उहाँको भनाइ छ ।

लामो समयको खडेरीका कारण मकै लगाउन पनि ढिलाइ भएको उहाँले बताउनुभयो । गलकोट नगरपालिका बाहेकका पालिकामा धान रोपाइँ न्यून भएको पुनले जानकारी दिनुभयो ।

एक दशकअघि जिल्लाका पाँच हजार नौ सय हेक्टरमा धानखेती हुने गरेकोमा अहिले पाँच हजार सात सय सात हेक्टरमा मात्रै धानखेती हुने गरेको छ । जसबाट वार्षिक १९ हजार सात सय ५० मेट्रिकटन धान उत्पादन हुने गरेको केन्द्रको भनाइ छ ।

“जिल्लामा कृषि गणना र अद्यावधिक नहुँदा कतिपय तथ्याङ्क आउन सकेको छैन”, पुनले भन्नुभयो । बागलुङमा अधिकांश जमिनमा परम्परागत जातको धान लगाउने चलन छ ।

परम्परागत धानतर्फ गौरीया, जेठोबुढो, गुडुरा र एक्ले धान लगाइन्छ । उन्नत जातमा केन्द्रले सिफारिस गरेको खुमल–४ जातको धान लगाउने चलन छ । त्यसबाहेक किसानले सिफारिस नभएको जातका धान पनि लगाएका छन् । “हामीले स्वीकृत नदिएपनि कतिपय किसानले ‘युएस ३१२’ जातको धान लगाउनुभएको छ”, पुनले भन्नुभयो, “यहाँको हावापानीमा अनुकुल नभएका उक्त जातको धान रोप्नका लागि सिफारिस गरिएको छैन ।”

दाना नलाग्नेलगायतको समस्या हुनसक्ने भन्दै केन्द्रले सचेत गराउँदा पनि केही किसानले लगाएको उहाँले बताउनुभयो । चैते धानको उत्पादन भने राम्रो भएको उहाँको भनाइ छ ।

“गुणस्तरीय बीउ छनौट गर्ने, उन्नत जातको धान रोप्दा उत्पादन बढाउन सकिन्छ”, केन्द्रका प्रमुख राजेन्द्र सिलवालले भन्नुभयो, “प्रशस्त जमिन छ, तर धान लगाइएको छैन । पर्याप्त सिँचाइको सुविधा उपलब्ध गराउन सके धान उत्पादन बढाउन सकिन्थ्यो ।” यहाँका तमानखोला र ताराखोला गाउँपालिकामा थोरै क्षेत्रफलमा मात्रै धान लगाइन्छ भने अन्य पालिकाको हकमा धान प्रमुख बाली हो ।

धानबालीमा लाग्ने रोगको उपचार नियमित गर्न सके उत्पादन बढ्न सक्ने किसानको भनाइ छ । समयमै पर्याप्त मल पाउने व्यवस्था र रोग लागेमा तत्काल उपचारको व्यवस्था भैदिए उत्पादन बढाउन सहज हुने गलकोट नगरपालिका ६ का नरबहादुर खत्रीले बताउुभयो । “धान त रोपेर लगभग सकियो, रोगकिराबाट बचाउन बेलाबेला उपचार र प्राविधिक साथ चाहिन्छ” उहाँले भन्नुभयो, “समस्या पर्नासाथ समयमा औषधि पाइयो भने उत्पादन बढाउन सकिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here