सानो झिल्को पनि भयानक हुन्छ

0
7

झापाको सदरमुकाम भद्रपुर जाने मुख्य सडकको स्तरोन्नतिको काममा ढिलाइ हुँदा अनेक सास्ती खेपेका स्थानीयले सडकमै ढाट तेस्र्याएर सडक अबरुद्ध गरे । स्थानीयको पीडालाई आत्मसात गर्दै स्थानीय सरकारका प्रतिनिधिहरु नै सहभागी भई निर्माण कम्पनी र सरकारलाई दवाव दिए । नगर प्रमुख गणेश पोखरेल, सम्बन्धित वडाका वडाध्यक्ष समेत सहभागी भएर स्थानीयको पीडा र दवावलाई समर्थन गर्नुपर्ने परिस्थिति संघ र प्रदेश सरकारका लागि लाज लाग्ने विषय हो । २०७७ माघ ६ गते सडक निर्माण र स्तरोन्नति गर्न ठेक्का पाएको काठमाडौंको कन्टेक्ट प्रालिले तीस महिनासम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्धारित समयमा काम पूरा गर्न नसक्दा म्याद पनि थपिएको थियो । दुई पटक म्याद थप गरेको कम्पनीले अहिलेसम्ममा चालीस प्रतिशतमात्र काम गरेको बताइएको छ ।

जिल्लाका प्रशासनिक कार्यालयहरु रहेको भद्रपुर जाने मुख्य सडक भएकाले दिनहुँ सयौंको संख्यामा सवारीसाधन सञ्चालन हुन्छन् । त्यसमाथि पूर्वको एउटा मात्र व्यवस्थित हवाई मैदान भएका कारण सडकमा सधैँ चाप रहन्छ । उक्त सडकको समेत रेखदेख गर्ने अख्तियारी पाएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले थपिएको म्याद अनुसार यही वर्षको पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । अन्यथा निर्माण कम्पनीलाई कानूनी कारवाही गरिने उनले चेतावनी नै दिएका छन् । दुई चरणमा निर्माण सम्पन्न गर्ने गरी काम थालेको कम्पनीले ढिलासुस्ती गर्दा सडक क्षेत्रका स्थानीयले धुलो, हिलोको सामना गरिरहनु परेको भन्दै स्थानीय फेरि आन्दोलित हुनुपर्ने बाध्यताका बीच संकेत नै भए पनि यो आक्रोशको झिल्को हो ।

लामो समयदेखि मर्मतसम्भार नभइरहेको सो सडक चार लेनको बनाउने निर्णयले स्थानीय हर्षित थिए । तर, चार वर्षमा पनि काम सम्पन्न नभएर हिउँदमा धुलो, वर्षामा हिलो र आवागमनमा कष्ट व्यहोर्नु परेका स्थानीयले यसअघि सभामुखदेखि प्रदेश तथा संघीय सरकारलाई समेत गुहारिसकेका छन् । तर, सबै प्रयास विफल भएपछि स्थानीयसँगको सहकार्यमा स्थानीय सरकार नै सडक बन्द गराउन लागेको नगर प्रमुख पोखरेलले बताएका छन् । दोस्रो चरणको भद्रपुर क्षेत्रको तीन किलोमिटर सडक जीर्ण हुँदा एकातिर स्थानीय र यात्रीलाई सास्ती भएको छ भने अर्कातिर दुर्घटनाको जोखिम पनि बढेको छ । यस्तोमा बिर्तामोड खण्डमै अलमलिएको निर्माण कम्पनी र संघीय सरकारलाई दवाव दिन गरिएको बन्दप्रति भद्रपुर जानुपर्ने सबैको समर्थन रहन्छ । यद्यपि बन्द साङ्केतिक हो, तर भनिन्छ नि– जान्नेलाई इशारा नै काफी हुन्छ । सरकार नै सरकार विरोधी हुनुपर्ने अवस्थाको अन्त्य होस् र निर्माण कार्यले तीव्रता पाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here