पुटानी बेंसीमा धान दिवस

0
1

युद्धबहादुर बोहोरा,
पाँचथर।

धेरै धान फलाउने कृषकलाई पुरस्कृत गरेर देश विदेशमा समेत चर्चित बनेको फाल्गुनन्द गाउँपालिकाले २१औं धान दिवस मनाएको छ ।

किसानलाई हौसला दिँदै बाँझो जमिनलाई प्रयोगमा ल्याउने, उत्पादन बढाउन साथै उनीहरुलाई प्रोत्साहनसहित पुरस्कृत गर्ने उद्देश्यले धान दिवस मनाएको जनाएको छ । यसअघि १ नम्बर वडाको नवमी डाँडामा धान दिवस मनाउँदै ५० मुरी भन्दा बढी धान फलाउनेलाई ३० हजार र एक सय मुरी बढी फलाउनेलाई ५० हजार पुरस्कारको घोषणा गरेसँगै दिवस मनाउन शुरु गरेको हो ।

मापदण्ड पुगेका किसानलाई पालिकाले भव्य समारोहको आयोजना गरेर पालिका परिसरमा नौमती बाजासहित २९ जनालाई सम्मान गरेको थियो । सोही कार्यलाई निरन्तरता दिँदै यस वर्ष पनि ५ नम्बर वडास्थित घुमाउनेटा छुको पुटानी बेंसीमा भव्यताका साथ दिवस मनाएको छ । स्थानीयबासीको बाक्लो उपस्थित रहेको रोपाईमा बच्चादेखि बुढापाका समेत हेर्न र काम गर्न आएका थिए ।

कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख महेशकुमार चौधारी समेतको उपस्थितिमा पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ, प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, वडाध्यक्ष बिष्णुकुमार चेम्जोङ, नारायणप्रसाद आङ्देम्बे, योजना शाखा प्रमुख निर्मल अधिकारी लगायत पालिकाका सबै शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

यसैबीच ज्ञान केन्द्रका प्रमुख चौधारीले पालिकाका जनप्रतिनिधिलाई कोदाली र फ्याउरी हस्तान्तरण गरेका थिए भने अध्यक्ष आङ्देम्बे र उपाध्यक्ष नेम्वाङले रोपारलाई धानको बीऊ प्रधान गर्दै रोपाइँ कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रम सञ्चालक गोपाल घिमिरेले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here