बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

0
2

झापा,

घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।

सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन् ।

पूर्वी इलामको सूर्योदय नगरपालिका–१ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई आइतबार बिहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसले झारफुक गर्ने धामीको सम्पर्कमा उहाँलाई पु-याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा ठीक नभएपछि उहाँलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो ।

नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उहाँको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् । पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् ।

मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुइ हेमरम सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको देब्रे औँलामा आइतबार बिहान ओछ्यानमै सर्पले डस्यो । सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधार नभएपछि उहाँलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्र पु-याइयो ।

सर्पले डसेपछि धेरैजसो पीडित डरले सिकिस्त हुने गरेका छन् । कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पु-याउने गर्छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा देब्रे हातको औँलामा डस्ने विषालु हरेउ सर्प जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पु-याए । अहिले राईको उपचार भइरहेको छ ।

मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की प्रख्यात सर्प उद्धारकको रुपमा चिनिनुहन्छ । उहाँले विगत ११ वर्षमा एक हजारभन्दा बढी सर्प मानिसका घरबाट उद्धार गरेर जङ्गलमा पु-याइसक्नु भएको छ । तीन दिन अघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उहाँ आफै घाइते हुनुभएको छ । उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला उहाँलाई डसेको थियो । उहाँको स्वास्थ्य सुधार भइरहेको छ ।

सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । जसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पु-याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनुभएका उहाँ पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुहुन्छ ।

चारआलीको उपचार केन्द्रमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भारतको दार्जिलिङ एवं विहारका जिल्लाबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । “पहाडमा गुर्बे, हरेउ र तराईमा गोमन र करेत प्राणघातक सर्प हुन्”, उहाँले भन्न्ुभयो, “हामीकहाँ उपचारका लागि आउने अधिकांश बिरामीले तिनै सर्पले डस्यो भन्ने गर्नुभएको छ । बर्खाको चार पाँच महिना त सर्पको डसाइको प्रकोप नै हुने गरेको छ ।”

केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका बिरामीले उपचार पाएको बताउनुभयो ।

केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु एक हजार पाँच हजार र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।

विपन्न र असहाय बिरामीका लागि निःशुल्कसमेत उपचार गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा एक सय २३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय ७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र छन् । झापामा मात्रै चारवटा छन् । चारआलीस्थित नेपाली सेनाको व्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।

सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here