कांग्रेस र एमालेबीच नयाँ सहकार्य

0
10

काठमाडौँ,

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । ती दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक भने गरिएको छैन ।

नाम उल्लेख नगर्ने शर्तमा उहाँले रासससँग भन्नुभयो “छलफल र गृहकार्यपछि तयार गरिएको नयाँ सत्ता समीकरणसहितको सहमतिपत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राति नै हस्ताक्षर गर्नुभएको छ । ”

प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ । दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन् ।

नयाँ सत्ता समीकरणका लागि सभापति देउवा र अध्यक्ष ओलीबीच केही दिन नियमित रूपमा छलफल हुँदै आएको थियो । सोमबारको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले अध्यक्ष ओलीसँग यही असार १५ गते भएको भेट सकारात्मक भएको जानकारी गराउनुभएको थियो ।

परिवर्तित राजनीतिक सन्दर्भको विषय सार्वजनिक भएपछि सो बारेमा छलफल गर्न कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीको आ–आफ्ना पदाधिकारी र सचिवालय बैठक बस्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here