विद्यावारिधि गर्ने र एसइईमा उत्कृष्ट अङ्क ल्याउनेलाई छात्रवृत्ति

0
1
फिक्कल (इलाम), 
इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति उपलब्ध गराएको हो । माङसेबुङ गाउँपालिकाले आज ‘विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम’ आयोजना गरी पीएचडी अध्ययनरत माङसेबुङ–२ का मनोजकुमार लिम्बू र गोविन्दप्रसाद लिम्बूलाई छात्रवृत्ति स्वरुप जनही रु दुई लाख ५० हजारका दरले उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईले दुवै जनालाई जनही रु दुई लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभयो ।
गतवर्ष सम्पन्न गाउँसभाको १४औँ अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको थियो । उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्ति दिन थालिएको अध्यक्ष राईले बताउनुभयो ।
आफ्नो पालिकावासी नागरिकलाई पीएचडी गर्न उत्प्रेरणा दिने उद्देश्यले ‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति वितरणसम्बन्धी ऐन, २०८०’ बमोजिम छात्रवृत्ति वितरण सुरुआत गरिएको उहाँले जानकारी दिनुभयो ।
“हाम्रो पालिकामा विद्यावारिधि गरेका विद्यार्थी पाउनै गाह्रो छ । कतिपयले पैसा नभएर विद्यावारिधि गर्न पाएका छैनन्”, अध्यक्ष राईले रासससँग भन्नुभयो, “पालिकावासी विद्यार्थीलाई विद्यावारिधिमा उत्प्रेरणा दिन छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ ।”
छात्रवृत्ति लिन माङसेबुङ गाउँपालिकाभित्रकै स्थायी बासिन्दा र नेपालकै कुनै एक विश्वविद्यालबाट विद्यावारिधि गर्नुपर्ने मापदण्ड ऐनमा उल्लेख छ । त्यसैगरी गाउँपालिकाले विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एएइई) मा पालिकाबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गरी उत्तिर्ण छात्रछात्रालाई जनही रु पाँह हजार नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा तीन दशमलव २१ जिपिए प्राप्त गरेकी महेन्द्रोदय माध्यमिक विद्यालय माङसेबुङ–१ की प्रकृति बराल र दुई दशमलव ०७ जिपिए प्राप्त गरेका सोही विद्यालयका अप्सन योङहाङलाई सम्मान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here