खोटाङमा कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने

0
1
खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा यही असार–२० गतेदेखि २५ गतेसम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन आउने खेलाडीलाई गाडी भाडा तथा खाना र बासको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु ४२ लाख लागत अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने भएकाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई आर्थिक सहयोग माग गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा खोटाङका महिला रेफ्री शशी राईसहित १५ जना महिला रेफ्री रहनेछन् । सबै प्रतियोगिता महिला रेफ्रीले खेलाउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here