अमित खम्बू
अर्जुनधारा ।

नेपाल सरकारबाट चार वर्ष अघि १५ शैय्याको अस्पतालमा स्तरोन्नती भएको झापाको अर्जुनधारा–९ स्थित शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्वास्थ्य सेवा विभागको गत वैशाख २३ गतेको निर्णय अनुसार अस्पतालमा उक्त कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त भएको अस्पतालका प्रशासन शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।
शाखा प्रमुख खड्काका अनुसार शल्यक्रिया सेवासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत बिमा कार्यक्रममा सहभागी भएका र नभएका सबै बिरामीलाई अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने बताइएको छ ।
त्यसैगरी अस्पतालमा शल्यक्रिया सेवासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमसँगै विस्तारित शल्यक्रिया सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार र जनशक्ति पनि तयारी अवस्थामा रहेको बताइएको छ ।
२०७७ असोज ७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नती भएको शनिश्चरे अस्पतालमा हाल २४ घण्टा विशेषज्ञ सेवासहित दैनिक भिडियो एक्सरे सेवा, २४ घण्टा इमरजेन्सी सेवा, २४ घण्टा अन्तरंग सेवा, २४ घण्टा ल्याब सेवा, २४ घण्टा फार्मेसी सेवा, २४ घण्टा एएनसी सेवा, २४ घण्टा बिलिङ सेवा आदि सञ्चालन रहेको छ ।
अस्पतालमा एक जना एमडीजीपी, एक जना स्त्री तथा प्रसुती रोग विशेषज्ञ, ६ जना मेडिलक अधिकृत रहेका छन् । “शल्यक्रिया सेवाका लागि आवश्यक अन्य चिकित्सकहरु अनकलमा उपलब्ध हुने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ ।”–उनले थप आफ्नो भनाइ राखे ।
यसैबिच अस्पतालमा सञ्चालन हुने शल्यक्रिया सेवा सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा सञ्चालनको बिहीबार एक समारोहकोबिच समुद्घाटन गरिएको छ ।
नगर प्रमुख एवम् अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए ।
नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायतको सहभागिता रहेको कार्यक्रममा समितिका सदस्य डा. भक्तराज दाहालले अर्जुनधारा नगरपालिकालाई निरोगी नगर बनाउने विषयमा आफ्नो धारणा राखेका थिए । अस्पतालका प्रमुख डा. योगेश चेम्जोङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्जुनधारा नगरपालिकाका प्रशासन शाखाका सहायक सौजन कटुवालले गरेका थिए ।































