इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

0
8
लुम्बिनी,
नेपाल कम्युष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक काम इमान्दारी साथ गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा आज बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हरेक काम अगाडि बढाउँदामात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो । विद्यार्थीले नयाँ कुरा सिक्ने, ज्ञान र सीप प्राप्त गर्नेतर्फ लाग्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमताअनुसार अघि बढ्न विद्यार्थी र अभिभावकलाई सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले आफ्नो लक्ष्यप्राप्तिका लागि सधैँ इमान्दार भएर लाग्न आग्रह गर्दै जीवनमा कहिल्यै पनि घमण्ड गर्न नहुने बताउनुभयो । उहाँले अवसरको अभावमा धेरै विद्यार्थीको नतिजा राम्रो आउन नसकेको बताउँदै सरकारले यसमा ध्यान दिनु जरुरी छ भन्नुभयो ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीमा सामुदायिक र संस्थागत विद्यालयले कायम गरेको शैक्षिक गुणस्तरलाई थप उन्नत बनाउन सबै पक्षको संयुक्त प्रयास रहने बताउनुभयो । उहाँले रुपन्देही जिल्लालाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा क्षेत्रमा अनुकूल परिस्थिति निर्माण गरेर रोजगारीका अवसर सृजनाका साथै देशभित्रै उद्यमशीलताको विकासमा लाग्ने सङ्कल्पका साथ एमालेले मुलुकको नेतृत्व गर्ने अवस्था आएको बताउनुभयो ।
अनलाइन कक्षा सञ्चालन गर्ने
अध्यक्ष ओलीले यस वर्ष एसइईको  मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क  पढाइने बताउनुभयो ।
उहाँले आत्मविश्वासकासाथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई सुझाव दिनुभयो । अनलाइन कक्षामा अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, ऐच्छिक गणित अध्यापन गराइने उहाँले बताउनुभयो ।
अनेरास्ववियूले एसइई परीक्षामा जिपिए ४ ल्याएका रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित रामपुर माध्यमिक विद्यालयका कृत्रिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here