लघुकथा सङ्ग्रह सनेसको विमोचन

0
15

झापा । साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को आज भक्तपुरमा विमोचन गरिएको छ ।
सताक्षीधाम साहित्य सङ्गम झापा र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, पूर्वप्राज्ञ प्रा डा देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं पूर्वप्राज्ञ लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गरे ।
कार्यक्रममा साहित्यकार प्रा डा नेपालले दाहालको कृति लघुकथा सनेस भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयामामा उत्कृष्ट रहेको चर्चा गरे ।
उनले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए । लेखक दाहाल झापाका लागि एक व्यक्ति नभई संस्था भएको चर्चा गर्दै उहाँका विभिन्न कृतिमध्ये लघुकथामा पहिलोपटक कलम चलाएर पनि स–सानामा कमजोरीबाहेक खोट लगाउने ठाउँ नभएको बताए ।
लेखक दाहालकी पत्नी उर्मिला दाहाल आफैँमा साहित्यकार र छन्द कविता वाचनमा उत्कृष्टता पहिचान बनाउन सफल भएको भन्दै सिङ्गो परिवार साहित्य लेखन र सहयोगमा लाग्नु खुसीको कुरा भएको बताइन् ।
स्रष्टा एवं लघुकथाकार धु्रव मधिकर्मीले लघुकथा एकछिनको एक आयामको एउटा घटनाको छोटो आयाम भएको चर्चा गर्दै सानो किस्सामा लेखिने भए पनि यसको अर्थ, महत्व र लेखनमा धेरै मेहनत पर्ने बताए ।
लघुकथालाई सामान्य रूपमा लिन नहुने बताउँदै उनले यसमा हुनुपर्ने तत्वहरू नभए लुघकथा बन्न नसक्ने टिप्पणी गरे । उनले लेखक दाहालको लघुकथा लेखन विस्तारै गहन रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले लुघकथाको जगेर्नामा उनको प्रयास प्रभावकारी हुने बताए ।
सनेसका समीक्षकद्वय इन्दिरा चापागाईँ र शेखर अर्यालले समाजका विकृति, विसङ्गति, राजनीतिक विसङ्गति, शिक्षा, पारिवारिक समस्या, सामाजिक, राजनीतिक एवं जातीय विभेद, सरकारप्रति व्यङ्ग्य समेटिएको यो सङ्ग्रह भाषा र प्रस्तुति शैलीबाट समेत उत्कृष्ट रहेको बताए ।
लेखक दाहालले यसअघि १० कथा सङ्ग्रह, बाल कविता सङ्ग्रह बाल संसार, कविता सङ्ग्रह, गीति सङ्ग्रह प्रकाशित गरे  उनले लघुकथाको क्षेत्रमा भने यो पहिलो प्रयास भएको बताए । ।
त्यस अवसरमा हास्यकार डम्बर घिमिरे, बन्दना घिमिरे, लता केसी, निर्मला बराल ममतालगायतले दाहालको लघुकथाले सामाजिक सन्देश प्रवाह गर्न सफल हुने चर्चा गरे ।
सनेसभित्र ६२ वटा लघुकथा सङ्ग्रहित छन् भने १५ देखि चार सय शब्दसम्मका लघुकथा छन् । कुल ८२ पृष्ठ लामो सङ्ग्रहको मूल्य रु दुई सय ५० कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here