वर्षाको अध्ययन गर्न विज्ञ टोली खटाइयो

0
34
काठमाडौँ, 
पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ ।
विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो ।
कँडेलका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको अध्ययन गरिनेछ । कतिपय अवस्थामा वास्तविकतामाथि प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठीक छ छैनलगायत सबै विषयमा अध्ययन गरिने उहाँले बताउनुभयो ।
अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय तथा सरकारी अधिकारीसँग जानकारी लिइने जनाइएको छ । पानीपर्दाको अवस्थामा स्थानीयको अनुभव लिइनेछ ।
कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा यही असार २३ र २४ गते परेको मुसल्धारे वर्षाले ७८ वर्षकै रेकर्ड ब्रेक गरेको थियो । त्यहाँ विभागले स्वचालित वर्षा मापन केन्द्र स्थापना गरेको छ ।
सो क्षेत्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो । विभागबाट प्राप्त विवरणअनुसार दोधारामा छ सय २४ मिलिमिटर, हनुमाननगरमा पाँच सय ७३ दशमलव छ मिलिमिटर तथा सुन्दरपुरमा पाँच सय ५५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here