सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग

0
16

भरतपुर,

चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आउनुभएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताउनुभयो ।

“बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौँ”, उहाँले भन्नुभयो ।

आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबारनै चितवन आउनुभएको छ । आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उहाँले बताउनुभयो । शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उहाँको भनाइ छ । पटेलले भन्नुभयो, “शव फेला परे लैजान्थ्यौँ । अरु त केही आश छैन ।”

बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गर्नुभयो । आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आउनुभएका उहाँले हेलिकप्टर र जहाज दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको गुनासो गर्नुभयो । पचासभन्दा बढी परिवार पीडामा रहेको भन्दै उहाँले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गर्नुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खटिएको बताउनुभयो । “नदीमा पानीको बहाव घटेको छैन । राति जोखिम हुने भएकाले खोजीकार्य स्थगन गरेका हौँ, आज बिहानैदेखि पुनः खोजीकार्य अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ । शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिने प्रजिअ यादवले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here