पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा

0
9

काठमाडौँ,

पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ ।

यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।

यस जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरूज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने परम्परा छ । पशुपति क्षेत्र विकास कोषले गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । यसैले पनि गङ्गामाई रथयात्राको विशेष महत्व छ ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइन्छ ।

आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोषबाट जात्रा पर्व हेर्नुहुने कर्मचारी वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो । जात्रा आजै समापन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here