प्राकृतिक जीवाणु मलको माग बढ्यो

0
2

झापा,

विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।

यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताउनुभयो । उहाँका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ । दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर रु ६० लाखको लागतमा सुरु गरिएको कारखानामा हाल रु तीन करोड बढी लगानी भइसकेको छ ।

स्थानीय व्यक्तिको सहयोगमा सञ्चालन गरिएको कारखानाबाट उत्पादन हुने पातमल, जरामल, धुलोमलको प्रयोगले बोटबिरुवालाई छिटो बढ्न, राम्रो उत्पादन दिन र बाली संरक्षक प्राङ्गारिक जीवाणुको रक्षा गर्ने उहाँले बताउनुभयो । माछामलले पोखरीमा माछाका लागि प्राकृतिक खाद्य पदार्थ बढाउन मद्दत गर्दै आएको छ ।

जीवाणु प्रविधिमा आधारित यी मलको माग दिनानुदिन बढिरहेको जनाउँदै कारखानाका सञ्चालक घिमिरेले माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग कीराको प्रकोप नियन्त्रण गर्नसमेत यसले सहयोग पु¥याउने बताउनुभयो ।

महिनामा एक हजार मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखानाबाट विगत छ महिनादेखि व्यावसायिक उत्पादन सुरु भएको छ । कारखानाबाट एकपटकमा सय टन धुलो मल र महिनामा ६० देखि ७० हजार लिटर झोल मल उत्पादन हुँदै आएको छ । स्थानीयस्तरमा पाइने, झारपात, काठको धुलो, पिना, गाईको गोबर, गहुँतलगायतको कच्चापदार्थ यो मल बनाउन प्रयोग हुने गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । हाई हिमालयनले कम्पोस्ट मल प्रतिकिलो रु ४० र झोलमल प्रतिलिटर रु ४० का दरले बिक्री गर्दै आएको छ ।

सरकारले जैविक मल उत्पादक उद्योगी र प्रयोगकर्ता किसानलाई प्रोत्साहन अनुदान दिँदै आएको छ । उहाँले जैविक मल उत्पादन गर्ने तरिका अध्ययनका लागि थाइल्यान्ड, फिलिपिन्स, डेनमार्क, बेल्जियमलगायत देशको भ्रमण गरिसकेको बताउनुभयो । “त्यहाँको अनुभव र प्रविधिलाई समेत हामीले यहाँ प्रयोगमा ल्याइरहेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले सरकारले किसानलाई रासायिनक मलमा अनुदान दिने गरेको तर प्राकृतिक जैविक मललाई बेवास्ता गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले बेवास्ता गरे पनि किसानको मागलाई धान्नका लागि निकट भविष्यमै मेचीनगर, अर्जुनधारा, शिवसताक्षी नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत उद्योग सञ्चालनको तयारी रहेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा एक मात्र हाई हिमालयन अर्गानिक प्रालि मात्र जीवाणु मलको कारखाना रहेको बताउनुभयो । उहाँले विगतमा कारखाना स्थापनाका लागि सरकारले रु ४० लाख अनुदान समेत प्रदान गरेको जानकारी दिनुभयो ।

“प्राङ्गारिक मलको तुलनामा जीवाणु मल धेरै उत्तम र सस्तो हो”, उहाँले भन्नुभयो, “यो मल पटकपटक प्रयोग गरिरहनुपर्दैन, यसले मोटोको गुणस्तर सुधार गर्ने र निरोगी बनाउने, लागत खर्च समेत घटाउँदै लैजाने गुण हुन्छ ।” उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पु¥याएकामा घिमिरले हालै रु दुई लाख नगद पुरस्कारसमेत पाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here