कनकाई सहारा सर्पदंश उपचार केन्द्र, १७७ जनाले लिए सेवा

0
1

झापा ।

कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा यस बर्ष एक सय ७७ जनाले सेवा लिएका छन् ।

उपचार केन्द्रबाट आर्थिक बर्ष २०८०/०८१ मा एक सय ७७ जनाले सर्पको टोकाईको उपचार सेवा लिएका हुन् ।

झापाको कनकाई नगरपालिका–४स्थित कोटीहोममा २०७३ सालमा स्थापना भएको उपचार केन्द्रमा झापाका बिभिन्न स्थानबाट सर्पको टोकाईको उपचारका लागि बिरामी आउने गरेका सेवा केन्द्रका प्राबिधिक (एचए) उज्वल खुलालले जानकारी दिए । उनका अनुसार आर्थिक बर्ष २०७९/०८० मा २ सय बढीले उक्त उपचार केन्द्रबाट सेवा लिएका थिए । नयाँ आर्थिक बर्षको साउन २ गतेसम्ममा एक जनाले मात्र सेवा लिएका छन् ।

उपचार केन्द्रमा धेरैजसो कनकाई, शिवसताक्षी, अर्जुनधारा, केही बिर्तामोड नगरपालिकाबाट पनि आउने गरेका छन् भने झापा, बाह्रदशी गाउँपालिका साथै भारतको दिगल बैंकलगायतबाट समेत सर्पको टोकाईको उपचार गर्न उपचार केन्द्रमा आउने गरेको प्राविधिक खुलालले बताए ।

केन्द्रमा एक जना अनकल डाक्टर, पाँच जना प्राबिधिक, २ जना सहायकसहित आठ जना कर्मचारी रहेको बताइएको छ । उक्त उपचार केन्द्रमा करिब ९० प्रतिशत अबिसालु सर्पका टोकाईका बिरामी आउने गरेका खुलालको भनाइ छ ।

झापा बिर्तामोड– २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा ६३ बढी संघसंस्थाको आवद्धतामा उपचार केन्द्रको स्थापना भएको थियो । स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना भएपछि सर्पको टोकाईबाट अकाल मृत्यु हुने क्रम घट्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here