झापामा विपी स्मृति दिवस मनाइयो

0
4

झापा।

महामानव विश्वेश्वरप्रसाद कोइरालाको आज ४२ औं स्मृति दिवस । प्रजातान्त्रिक समाजवादी दर्शनका प्रतिपादक विपीको स्मरणमा देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि महामानव विपी कोइरालाले आफ्नो जीवनकालमा गर्नुभएको योगदान, त्याग, बलीदानीपूर्ण संघर्ष, विपीको ब्यक्तित्व एवं विपीले गर्नुभएको साहित्यिक योगदानबारे चर्चा र उहाँले प्रतिपादन गर्नुभएको समाजवादी चिन्तनका बारे ब्याख्या, विश्लेषण, विचार गोष्ठी, रक्तदान बृक्षरोपण, प्रजातन्त्रवादी योद्धाको सम्मान आदि कार्यक्रम गरी ४२ औं विपी स्मृति दिवस मनाइएको हो ।

यही दिवसको सन्दर्भ पारेर झापाका १५ पालिकाका १३१ वटै वडा समिति, भातृ तथा शुभेच्छुक संस्थाहरुले विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । विपी स्मृति दिवसको अवसर पारेर भद्रपुर नगर समितिले भद्रपुर–१० विपी चोकमा रहेको पूर्णकदको शालिकमा माल्र्यार्पण एवं विचार गोष्ठी सम्पन्न गरिएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले विपीले प्रतिपादन गर्नुभएको सिद्धान्त नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत बनेको बताए । विपीको त्यो बेलाको साहित्यिक तथा राजनीतिक दर्शनले मात्रै अहिलेको राजनितिक व्याबस्था चलेको बताउदै सभापति थापाले विपीले २०३३ सालमा भारतबाट नेपाल फर्कदा ल्याएको मेलमिलापको नीति नेपालका सबै राजनितीक दलहरुमा लागु हुनुपर्ने धारणा राखे ।

कोशी प्रदेशको पूर्व मुख्य मन्त्री समेत रहेका थापाले एक फरक प्रसङ्गमा वर्तमान कांग्रेस एमाले विचको गठबन्धन देशको आवश्यकता भएको बताउँदै २०८४ सालको निर्वाचन सम्म दुवै पार्टी मिलेर जानुपर्नेमा जोड दिनुभयो । नगर सभापति राम कंडेलको सभापतित्वमा सम्पन कार्यक्रममा नेपाल महिला संघ झापा उपाध्यक्ष शर्मिला अधिकारीले पनि मन्तब्य राखिन् । कार्यक्रममा भद्रपुर १० का वडा सभापति विष्णु काफ्लेले स्वागत र नगर सह सचिव नन्दकुमार राजवंशीले सञ्चालन गरेका थिए ।

यही दिवसको सन्दर्भ पारेर दमक वडा नं–५ ले स्थानीय धनेश्वर धामलाई फुलसहितका गमला हस्तान्तरण गरेको छ । पार्टीका केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, क्षेत्र नं–५ प्रदेशसभा ख का सभापति रवि के.सी, नगर सभापति प्रकाश प्रसाई लगायतको उपस्थितिमा धाम परिवारलाई फूलसहितका गमला हस्तान्तरण गरिएको वडा सभापति चैतन्य बरालले जानकारी दिए ।

विपी स्मृति दिवसकै सन्दर्भ पारेर कनकाई नगरपालिका वडा नं–१, २ र ७ को संयुक्त आयोजनामा दुर्गापुर बजार परिसरमा रक्तदान एवं विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको सचिव कृष्ण हुमागाँईको प्रमुख आतिथ्य र एकराज उप्रेतीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । ईश्वरी शिवाकोटीको सभापतित्व र मनोज बस्नेतको स्वागत रहेको कार्यक्रममा विपीले प्रतिपादन गर्नुभएको समाजवादी चिन्तन र त्यसको ब्यवहारिक कार्यान्वयनका विषयमा विचारगोष्ठी गरिएको थियो । कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको बताइएको छ ।

यसैगरी अर्जुनधारा नगरपालिका वडा नं–४ ले कैंदले बनपूर्वको जैविक तटबन्ध क्षेत्रमा विभिन्न प्रजातिका दुईसय विरुवा रोपेको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य रश्मिशेखर सुवेदीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रम उपसभापतिद्वय घनेन्द्र बुढाथोकी र भाष्कर पाण्डेको संयोजनमा सम्पन्न भएको हो ।

गोष्ठीलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै प्रमुख अतिथि हुमागाईले पूँजीवाद, सामन्तवाद, सर्वहारा बर्गको अधिनायकवाद र लोकतान्त्रिक समाजवादका बीचको भिन्नता र अन्तरको बिषयमा आफ्नो बिचार राखेका थिए । उनले भने – “अबको तीन दशक नेपालमा प्रजातान्त्रिक समाजवादको आवश्यकता छ । त्यस पछि नेपालमा पूँजीवादको सुरुवात हुन्छ ।’
विपी स्मृति दिवसको अवसर पारेर विर्तामोड–५ मा आयोजित ‘वीपी, समाजवाद, अबको कार्यदिशा’ विषयक विचार गोष्ठीका सहभागी बक्ताहरुले विपीले प्रतिपादन गरेको समाजवादी नीतिलाई नेतृत्वपंक्तिलाई ब्यवहारिक कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

वडासभापति दिपक मेनेङबोको सभापतित्व एवं पार्टीका महासमिति सदस्य एवं जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका सहभागी बक्ताहरुले प्रजातान्त्रिक समाजवादको ब्यवहारिक कार्यान्वयनले मात्रै देश र जनताको भलो हुने बताएका हुन् । गोष्ठीलाई सम्बोधन गर्दै नेका महासमिति सदस्य जलकुमार गुरुङ्गले नेता र कार्यकर्ताको संयुक्त विचार, व्यवहार, इमान्दारिता र परिश्रमले मात्र पार्टी बलियो हुने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, महासमिति सदस्य राधा सुब्बा, सदस्यहरु ओमकृष्ण विमली, युवराज प्रसाई, रश्मिशेखर सुवेदी, इन्द्रजीत चौधरी, नगर कोषाध्यक्ष पार्वता विमली, रविन्द्र भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो । खगेन्द्र प्रसाईले स्वागत एवं कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन राजेश नेपालले गर्नुभएको थियो ।

यसैगरी नेपाल महिला संघ झापाले विपी स्मृति दिवसको अवसर पारेर विर्तामोडस्थित बृद्धआश्रमका बृद्धबृद्धालाई फलफुल वितरण गरेको छ । नेपाल महिला संघ झापाका अध्यक्ष टिकादेवी मैनालीको नेतृत्वमा परोपकार तथा अनुसन्धान केन्द्रमा पुगेको टोलीले त्यहाँ आश्रित बृद्धबृद्धालाई फलफुल वितरण गरेको हो ।

मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परोपकार तथा अनुसन्धान केन्द्रका संरक्षक नर्वदा श्रेष्ठ, ईश्वर निरौला, नेपाल महिला संघ २ नम्बर क्षेत्रीय सभापति मनु विश्वकर्मा, विर्तामोड नगर अध्यक्ष कृष्णमाया रिजाल लगायतले मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन उर्मिला पोखरेलले गर्नुभएको थियो ।

नेपाली कांग्रेस विर्तामोड २ नम्बर वडा समितिले ‘वीपीको विचार’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । नेपाली कांग्रेस झापाका सदस्य ओमकृष्ण विमलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्यहरु धर्म लक्सम्बा, देवी गिरी, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, रामलाल उप्रेती लगायतले वीपीको प्रजातान्त्रिक समाजवादी विचार र सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै यसको पूर्ण कार्यान्वयन जरुरी रहेको औंल्याएका थिए । कार्यक्रम देवीप्रसाद खरेलको सभापतित्व र रुपनारायण ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समिति र नेपाल तरुण दल बुद्धशान्ति गाउँ समितिको संयुक्त आयोजनामा पार्टी कार्यालय परिसरमा विभिन्न जातका विरुवा रोपी विपी स्मृति दिवस मनाइएको छ । क्षेत्रीय सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कांग्रेस नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

विपी स्मृति दिवसको अवसर पारेर मेचीनगर–६ स्थित पूर्णकदको शालिकमा माल्र्यार्पण गरिएको छ । कोशी प्रदेश सांसद गोपाल तामाङ, जिल्ला प्रतिनिधि रामप्रसाद दुलाल लगायतको उपस्थितिमा शालिकमा माल्र्यार्पण गरी विचार गोष्ठी सम्पन्न गरिएको हो ।

यसैगरी झापा गाउँपालिका वडा नं–७ मा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सदस्य शिवकुमार कँडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस हल्दिबारीले पालिकाका पाँचवटै वडामा रहेका प्रजातन्त्रवादी योद्धाहरुलाई सम्मान गरेको गाउँ सभापति गंगाप्रसाद प्रसाईले जानकारी दिनुभयो ।

यसैगरी नेपाली कांग्रेस दमक ८ नं वडा समितिले जेष्ठ नागरिक सम्मान एवं विचार गोष्ठी सम्पन्न भएको छ । स्थानीय बेणुप्रसाद चुडाललाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा जेष्ठ नागरिकलाई फलफुलका विरुवा हस्तान्तरण गरिएको थियो ।वडा सभापति चन्द्र खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, ढुण्डिराज भण्डारी, रवि केसी, तेजबहादुर धिमाल लगायतले मन्तब्य राख्नुभयो । कार्यक्रममा प्रेमचन्द्र भण्डारीले स्वागत गर्नुभएको थियो ।

शिवसताक्षी नगरपालिका वडा नं–८ ले विचार गोष्ठी सम्पन्न गरेको छ । पर्शुराम ढुङ्गानाको प्रमुख आतिथ्य र गोपाल कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष सन्त फेवदिन लगायतले मन्तब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here