पत्रकार चन्द्रकिशोरलाई दुई लाख २२ हजार राशिको सेवा पुरस्कार

0
1

बिर्तामोड ।

पत्रकार तथा स्तम्भकार चन्द्रकिशोरलाई दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ राशिसहितको सेवा पुरस्कार नेपाल– २०८१ प्रदान गरिने भएको छ ।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी काठमाडौंले उक्त पुरस्कार यस वर्ष चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरेको गुठीका कोषाध्यक्ष किरण थापाले जानकारी दिए । साढे तीन दशकदेखि पत्रकारितामा क्रियाशिल चन्द्रकिशोर कान्तिपुर दैनिकको ‘डेटलाइन तराई’ र नेपाली टाइम्स (अंग्रेजी)को ‘बोर्डरलाईन्स’ स्तम्भकार हुन् । उनी हिमाल खबर पत्रिकाका लागि ‘देहात संवाद’ स्तम्भ पनि लेख्दै आएका छन् ।

खोज पत्रकारिता केन्द्र नेपालका निवर्तमान अध्यक्ष रहेका चन्द्रकिशोरले मधेस, पहाड र हिमाललाई एकसुत्रमा राख्दै समग्रमा नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई अभिवृद्धि गर्ने कार्यमा गरेको योगदानको सम्मान स्वरुप उक्त पुरस्कार समर्पण गर्न लागिएको बताइएको छ ।

नियमित स्तम्भ लेखनका साथै अन्य पत्रपत्रिकाहरुमा लेखको माध्यमबाट देशका विभिन्न सान्दर्भिक समस्यालाई उठाइ विश्लेषणात्मक रुपमा चन्द्रकिशोरले व्यक्त गरेको विचारको गुठीले प्रशंसा गरेको छ । विशेषगरी मधेश प्रदेशका जिल्लाहरुको स्वास्थ्य, शिक्षा, जातीय विभेद, छुवाछुत र विकास निर्माणको क्षेत्रमा भएको त्रुटिहरुलाई औल्याउँदै चन्द्रकिशोरको आलोचनात्मक विश्लेषण र सुझावसहितको सन्तुलित प्रस्तुतिले समाज निर्माणमा योगदान गर्दै आएको बताइएको छ ।

सेवा गुठीका कोषाध्यक्ष थापाले भनेका छन्– ‘चन्द्रकिशोरले आफ्नो लेखबाट राष्ट्रिय आत्मसम्मानको भावना अभिवृद्धि गर्दै समग्र मधेस, पहाड, हिमाल अनि तत्–तत् ठाउँमा बसोबास गर्ने आमनेपालीहरुको भाषा, साहित्य, संस्कृतिलाई उजिल्याउने जुन प्रयास गर्दै आउनुभएको छ, त्यसको सेवा गुठी परिवार उच्च कदर गर्दछ ।’

यही साउन ११ गते काठमाडौं कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त पुरस्कार समर्पण गरिने बताइएको छ । त्यति नै राशिको अर्को पुरस्कार सोही समारोहमा डा. सन्दुक रुइतलाई प्रदान गरिने पनि बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here