पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

0
2

झापा,

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ ।

यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ ।

सोही अवधिमा काँकडभिट्टा नाका भएर रु १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उहाँले जानकारी दिनुभयो । गत आवको आयातको तुलनामा आव २०८०/८१ मा रु चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो ।

निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत छन् । चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो भने भारत र बङ्गलादेश दुबै मुलुकमा निर्यात हुने गर्छ ।

आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिनुभयो । काँकडभिट्टा नाका भएर आयात हुने खाद्य वस्तुमा मकै, फापर, कोदो रहेको छ ।

यस नाकाबाट उक्त अवधिमा जम्मा रु ९१ करोड ५६ लाख ८१ हजार मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ । आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै छ । कार्यालयको तथ्याङ्क अनुसार रु चार अर्ब, ८७ करोड ६५ लाख १५ हजारको ताजा फलफूल रु चार अर्ब ५६ करोड २३ लाख ८० हजारको ताजा तरकारी एक वर्षमा आयात भएको छ ।

निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड भारत निर्यात हुने गरेको छ । भारतबाहेकका मुलुकमा निर्यात थोरै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here