सर्पले डसेका बिरामीको सफल उपचार गर्दै ‘राप्ति प्रादेशिक अस्पताल’

0
17

तुलसीपुर (दाङ),

सल्यान बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुर बस्दै आएकी एक बालिकालाई आज सर्पले डस्यो । ओछ्यानमा सुतिरहेको अवस्थामा तीन वर्षीया बालिका सिर्जना चन्दलाई सर्पले डसेपछि उनीहरूले नजिककै धामी भएको ठाउँमा लगे । धामीले तत्काल अस्पताल लैजान भनेपछि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर ल्याइयो । आमा लक्ष्मी चन्दसँगै सुतिरहेको अवस्थामा सर्पले डसेपछि गम्भीर अवस्थाकी बालिकालाई अस्पताल ल्याउँदा उनको मुटुको धड्कन निकै कम चलिरहेको थियो । अस्पतालका डा रोशन गुप्ताका अनुसार ५ः३० बजेतिर बिरामीलाई अस्पताल ल्याइएको थियो ।

त्योबेला अक्सिजनको स्तर पनि ४० प्रतिशतभन्दा कम भइसकेको थियो । “अक्सिजनको लेभल ५० भन्दा कम हुँदा निकै जोखिम हुन्छ, तर ती बालिकाको अक्सिजनको लेभल ४० भन्दा कम भइसकेको थियो”, उहाँले भन्नुभयो, “बालिकाले श्वास पनि फेरिरहेको थिएन, उनलाई बचाउन सकिन्छ, की सकिँदैन भन्ने नै थियो ।” बिरामीले श्वास नै नफेरेपछि ‘एम्बु ब्याग’को सहायताले अक्सिजन दिइयो । अक्सिजन दिँदै ‘एन्टि स्नेक भ्यानम’ पनि दिएपछि ९ बजेतिर बिरामी बालिका होस्मा आइन् । अहिले उनको अवस्था सामान्य रहेको डा गुप्ताले बताउनुभयो ।

“सुतेको अवस्थामा बिहान ३ बजेतिर सर्पले डसेको देखिन्छ, ५ः३० बजेपछि मात्रै अस्पताल ल्याउँदा निकै ढिला भइसकेको थियो”, उहाँले भन्नुभयो, “तर समयमै ल्याएपछि विषालु सर्पले डसेका बिरामीको सफल उपचार गर्न सकिन्छ ।” उनलाई कोभ्रा सर्पले टोकेको थियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भए पनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको यो गतिलो उदाहरण भएको उहाँको भनाइ छ । “यो अरु जस्तो ‘केश’ थिएन, निकै असहज अवस्थामा पनि बिरामीका आफन्तले विश्वास गरेपछि सकिने रहेछ भन्ने एउटा उदाहरण हो”, उहाँले भन्नुभयो, “सर्पले टोकेका बिरामी पनि धामीझाँक्रीको विश्वास नगरेर सिधै अस्पतालमा ल्याए सम्भव छ ।”

यो त एउटा उदाहरण मात्रै हो । अहिलेसम्म अस्पतालमा समयमै उपचारका लागि आएका सर्पले डसेका बिरामीको सहज उपचार गरेर पठाएको अस्पतालका आपत्कालीन शाखा प्रमुख धनबहादुर केसीले बताउनुभयो । यस महिनामा मात्रै दुई जना विषालु सर्पले डसेका बिरामी आएको उहाँले बताउनुभयो । ती दुवैजनाको उपचार सफल भएको केसीले बताउनुभयो ।

त्यस्तै गएको आव २०८०/८१ मा १७ जना विषालु सर्पले डसेका बिरामी आएका थिए । तीमध्ये छ जनालाई बाहिर पठाइएको र अन्य ११ जनाको उपचार सफल भएको प्रमुख केसीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here