भयावह बन्दै लागूऔषध

0
17

झापामा लागूऔषधको प्रयोग तथा कारोबार बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार नियन्त्रणको क्रम बढिरहेको भए पनि खुल्ला सीमानाको फाइदा उठाउँदै लागूऔषधका कारोबारीहरुले विभिन्न नाकाबाट लागूऔषध भित्र्याइरहेका छन् । यसले व्यक्ति, परिवार, समाज तथा राष्ट्रलाई नै पु¥याउने हानीलाई दृष्टिगत गरी प्रहरीले व्यूरो नै गठन गरेर नियन्त्रणको प्रयास गरिरहेको छ । भारतसँग एक सय ४४ किलोमिटर खुल्ला सीमाना भएको झापाका काँकरभिट्टा, बिर्तामोड, भद्रपुर, दमक जस्ता शहरहरुमा दिनहुँ प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेका छन् । तर, त्यसको न्यूनीकरण हुन नसक्दा प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न समेत चुनौति थपिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दका अनुसार झापा गाउँपालिकाको कामाटोलीबाट एक जना कारोबारीलाई पक्राउ गर्न गोली नै प्रहार गर्नुपरेको थियो । तथ्यांक अनुसार झापा प्रहरीले गत तीन वर्षको अवधिमा ६४ जना भारतीय कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषधको सेवन तथा कारोबार व्यापक भइरहँदा पनि स्थानीय सरकार भने त्यसको नियन्त्रणका लागि उदासीन देखिएको नियन्त्रणको क्षेत्रमा काम गर्नेहरुको गुनासो छ । प्रहरीले पक्राउ परेकाहरुका साथबाट अफिम, ब्राउनसुगर लगायत विभिन्न लागूऔषधहरु समेत बरामद गरेको थियो । भारतमा सस्तोमा पाइने त्यस्ता वस्तु नेपालमा ल्याएर महंगोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागूऔषधको दुरुपयोगको समस्या प्रत्येक वर्ष बढ्दै गएपछि झापा प्रहरी आक्रामक शैलीमा प्रस्तुत भएपछि कारोबारीहरु पक्राउ पर्ने क्रम पनि बढेको तथ्यांकले देखाउँछ ।

लागूऔषध व्यक्ति, परिवार तथा सामाजका लागि घातक त छ नै यसको बढ्दो प्रयोगले देशलाई समेत क्षति पु¥याउँछ । यसले जिल्लाको शान्ति सुरक्षामा खलल पु¥याउनुका साथै अपराधहरु बढाउँछ । हाल भइरहेको तस्करी रोक्न प्रहरीलाई स्थानीय सरकार तथा सामाजिक अगुवाहरुले पनि सहयोग गर्नुपर्छ । अन्यथा यसले विकराल रुप लिनेछ र हाम्रो भावी पुस्ताको भविष्य पनि अन्धकार हुनेछ । देशभर दुई लाखभन्दा बढी प्रयोगकर्ता रहेको र कोशी प्रदेशका झापा, मोरङ, सुनसरी यसबाट बढी प्रभावित रहेका छन् । त्यसैले यसलाई नियन्त्रण गर्न सचेतना शिक्षासँगै विभिन्न माध्यमबाट प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्दछ । यसका साथै प्रभावितहरुको उपचार, पुनस्र्थापनामा समेत सम्बद्ध पक्षको ध्यान जानु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here