किम्बु बगैँचा मासेर बीउ उत्पादन गर्दै स्रोत केन्द्र

0
14

वालिङ (स्याङ्जा),

वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ ।

विसं २०४१ मा रेशमखेती गर्ने उद्देश्यले स्थापना भएको रेशम विकास कार्यालयको नाम र काम परिवर्तन भएसँगै किम्बु बगैँचा फाडेर अन्नको बीउ उत्पादन थालिएको हो । २०४२ सालमा ३५ रोपनी क्षेत्रफलमा किम्बु बगैँचा लगाएर रेशमखेती हुँदै आएको थियो । गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास स्रोत केन्द्रका रूपमा स्थापना भएको केन्द्रले आलु, मकै र धानको बीउ उत्पादन गर्दै आएको छ ।

उक्त कार्यालयका प्रमुख सुदीप रेग्मीका अनुसार २० रोपनीमा आलु, मकै र धानको मूल बीउ उत्पादन थालिएको छ । चिप्स बनाउन प्रयोग गरिने विभिन्न जातका आलुको परीक्षण उत्पादन भएको छ । यस वर्ष ‘मनकामना ३’ जातको मकै उत्पादन गरी प्रशोधनको तयारी छ ।

मकै उत्पादन गरेको स्थानमा ‘रामधान’ को प्रजनन तथा मूलबीउ उत्पादन गर्ने उद्देश्यले धानखेती गरिएको छ । कार्यालय परिसरमै धान, मकै, गहुँको विषादीको प्रयोग गरेर वा नगरीकन प्रशोधन गर्न सकिने उपकरण जडान गरिएको छ ।

जडान भएका उपकरणबाट कार्यालय परिसरमा उत्पादन भएका बीउ तथा जिल्लाका विभिन्न स्थानमा बीउ उत्पादनसँग सम्बन्धित समूह सहकारीले उत्पादन गरेका बीउको प्रशोधन र भण्डारण गर्न पनि सहज भएको प्रमुख रेग्मीले बताउनुभयो । कार्यालयले उत्पादन गरेको धान, मकै, आलुको मूलबीउ सरकारले तोकेको मूल्यमा बिक्री गरिने उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here