चट्याङले विद्युत् ट्रान्सफर्मर जल्दा ९० घर उपभोक्ता तीन दिनदेखि अन्धकारमा

0
25
खोटाङ, 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ९० घर विद्युत् उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य बनेका छन् । साउन १५ गते साँझ वर्षासँगै परेको चट्याङले ट्रान्सफर्मर जलेपछि खार्मीस्थित सोती, फूलबिसौना, डढेली र खत्रीगाउँमा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् ।
चट्याङले जलेको ट्रान्सफर्मर मर्मतका लागि तीन दिनपछि प्राविधिक टोली आए पनि अर्को फेर्नुपर्ने भन्दै फर्किएको स्थानीय विक्रम राईले बताउनुभयो । “विद्युत् अवरुद्ध भएपछि प्राविधिकलाई पटक–पटक फोन ग¥यौँ । तीन दिनपछि आज आउनुभएको थियो । तर अर्को ट्रान्सफर्मर फेर्नुपर्छ भन्दै मर्मत नै नगरी फर्किनुभयो”, उहाँले भन्नुभयो, “तीन दिनदेखि हामी अन्धकारमा बस्न बाध्य छौँ । कहिले पुनःसञ्चालन गरिदिने हो टुङ्गो छैन । प्राधिकरणको बेवास्ताले हामी मारमा परेका छौँ ।”
तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा मोबाइल फोन स्वीच अफ हुनुका साथै कुटानीपिसानीका काम गर्ने मिलसमेत बन्द भएको स्थानीयले बताएका छन् । आफ्नो गाउँमा विद्युत् सञ्चालन भएपछि उज्यालोका लागि त्यसअघि प्रयोग हुँदै आएको टुकीसमेत विस्थापन गरिएकाले समस्या भएको उपभोक्ताहरुले बताएका छन् ।
अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ता आफँैले अर्को ट्रान्सफर्मर ढुवानी गरेर ल्याउनुपर्ने भन्दै निरीक्षणमा आएको प्राविधिक फर्किएको स्थानीय बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका सदस्य हर्कराज राईले जानकारी दिनुभयो ।
“हामीले महसुल तिर्ने हो । महसुल तिरिसकेपछि बिग्रिएको ठाउँमा विद्युत् प्राधिकरणले मर्मत गर्नुपर्छ”, उहाँले भन्नुभयो, “प्राधिकरणका कर्मचारी गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनुभयो । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युत्को ट्रान्सफर्मरसमेत साउन १५ गतेको चट्याङले जलेको जनाइएको छ । विद्युत् ट्रान्सफर्मर जलेपछि निर्मलीडाँडा र बाहुनीडाँकाका स्थानीय उपभोक्ता अन्धकारमा बस्न बाध्य छन् ।
दश स्थानीय तह रहेको जिल्लामा अन्य ठाउँमा पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरणले समयमा मर्मत गरेर पुनःसञ्चालनमा नल्याउँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन् ।
जिल्लामा सञ्चालन गरिएको विद्युत् छिनछिनमा आउने तथा छिनछिनमा जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले बताएका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणले बताउँदै आएको छ ।
ट्रान्सफर्मर जलेर अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउनका लागि पहल भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख सोवितबहादुर क्षेत्रीले बताउनुभयो । “साउन १५ गतेको चट्याङले तीन ठाउँको ट्रान्सफर्मर जलेको भन्ने जानकारी प्राप्त भएको छ । तीनवटै ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि मात्र विद्युत् सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कार्यालयमा गाडी नभएका कारण ट्रान्सफर्मर पठाउन सकिएको छैन । कार्यालयको गाडी विराटनगर गएको छ । उताबाट फर्किएपछि पठाउने तयारी गरेका छौँ ।”
पछिल्लो समय ३३ केभी प्रसारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युत्मा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षेत्रीले बताउनुभएको छ । विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा विस्तार पुगेको छ ।
जिल्लामा विस्तार गरिएको विद्युत् पानी पर्दा, हावा चल्दा र बाढी तथा पहिरो आउनासाथ अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ ।
वर्षात्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्राधिकरणले प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइँपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुगरी तीन जिल्लामा विस्तार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here