सडकमा घिस्रिएर माग्दै हिँड्ने वृद्धाको उद्धार

0
77

बिर्तामोड।

वीरता जेसीजको पहल र सामाजिक अभियन्ता विष्णु आचार्यको समन्वयमा झापाको बिर्तामोडबाट आज शुक्रबार एक महिलाको उद्धार गरी मायाघर नेपाल इटहरी पठाइएको छ ।

मजदुरी गरी गुजारा गर्दै आएकी अन्दाजी ६० वर्षीया ती महिला ११ महिनाअघि लडेर घाइते भएपछि एउटा खुट्टाको हड्डी कम्मर छेउमा खुस्किएको थियो । उपचार गर्ने पैसा नहुँदा पीडा खप्दै बसेकी उनी सडकमा घिस्रिएर माग्दै आएकी थिइन् ।

उनलाई बिर्तामोड–१ दुर्गा पाञ्चायन टोलकी रीतामाया गहतराजले आश्रय दिँदै आएकी थिइन् । सडकमा मागेर ल्याएको नगद तथा जिन्सी त्यही आश्रय स्थलमा बुझाउने र गहतराजले खाना दिँदै आएकी थिइन् ।

ती महिलाको उपचार र जीवनयापन सहज होस् भनेर वीरता जेसीजको पहल, आचार्यको समन्वय र बिर्तामोड नगरपालिका–१ नं. वडा कार्यालयको सिफारिसमा उद्धार गरिएको हो । जेसीजका अध्यक्ष विकास बस्नेतले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने यथार्थ आत्मसात गरी वृद्धा महिलाको उद्धार गरिएको बताए ।

घिस्रिएर माग्दै पीडादायी ढंगले जीवन निर्वाह गर्दै आएकी महिलाको उद्धार गरेकोमा स्थानीय लक्ष्मी गिरी लगायतले वीरता जेसीज र अभियन्ता आचार्यको कार्यको सराहना गर्दै धन्यवाद दिए ।

आफ्नो नाम शान्ति माली बनाउने ती महिलालाई वीरता जेसीजको एम्बुलेन्स मार्फत इटहरी मायाघर पु¥याएको हो । त्यसक्रममा जेसीजका कोषाध्यक्ष टीकाराम खतिवडा, सदस्य निकुञ्ज बस्नेत लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here