बाढीबाट भइरहेको क्षति र रोकथामका उपायहरु

1
80

 

अहिले मनसुन एकदमै सक्रिय छ । दिनानु दिन कहिं न कहिं क्षति भइरहेको समाचार देखिन्छ, सुनिन्छ ।यसरी जनधनको क्षति हुनु अत्यन्त दुःखद र पीडादायी अवस्था हो । संघीय राजधानीमा नै बागमती, बिष्णुमती, मनहरा, हनुमन्ते लगायतका खोला करिडोरका बस्तीहरुमा बाढीले मानवीय तथा भौतिक क्षति गरिहेको छ भने त्यो भन्दा पनि जर्जर र कहाली लाग्दो अवस्था छ, राजधानी बाहिर । आखिर यो किन भइरहेको छ ? के यसको रोकथाम तथा क्षति न्यूनीकरणका लागि कुनै उपाय छैन ?असार लागेपछि वर्षा र बाढी सम्झिने अनि असोज लागेपछि बिर्सने किसिमको परिपाटी यदि कायमै रहने हो भने अवश्य रोकथाम र क्षति न्यूनीकरणको उपाय नहोला । तर प्रकोप र विपद्लाई यदि साँच्चिकै गम्भीरतापूर्वक लिने, बुझ्ने र महत्वकासाथ काम गर्ने हो भने अवश्य पनि माथि उल्लेख गरिएका प्रश्नहरु अनुत्तरित हुने छैनन् ।

एकछिन यसबारे चर्चा गरौं

सामान्यतः प्रकोप र विपद्लाई एउटै अर्थमा अर्थात् पर्यायवाची शब्दको रुपमा बुझेको पाइन्छ । तर प्रकोप र पिवद् एउटै होइन । यसमा तात्वीक भिन्नता छ । सरल तरिकाले बुझ्ने हो भने, प्रकोपलाई रोक्न सकिंदैन तर विपद्लाई रोक्न सकिन्छ । प्रकोपलाई प्रकोपमै सीमित गर्न सकिन्छ अर्थात् यसबाट कुनै पनि जनधनको क्षति हुनबाट रोक्नलाई हाम्रो क्षमता र कार्यमा भर पर्दछ । प्रकोप जनधनको क्षति गर्न सक्ने परिघटनाहरु हुन् भने विपद् चाहिं ती परिघटनाहरुबाट मानवीय, भौतिक, आर्थिक वा वातावरणीय क्षति एवं असरहरु हुन् । यसो भनिरहँदा बाढी, पहिरो, भूकम्प आदि विपद् हैन भन्ने जिज्ञासा तथा प्रश्न उठ्न सक्छ । हो, यी सबै विपद् हुन् यदि यसबाट जनधनको क्षति र असर भएको छ भने । यदि केहि पनि क्षति भएको छैन भने यो एउटा परिघटना मात्र हो । अर्थात् प्रकोप हो । बाढी, पहिरो, भूकम्प जस्ता परिघटनालाई रोक्न नसके पनि यसबाट हुने क्षति र असरलाई रोक्न सकिन्छ । त्यसो भए अहिले काठमाडौं लगायत मुलुकका अधिकांश ठाउँमा किन बाढी र पहिरोले मानवीय र भौतिक क्षति भइरहेको छ त ? के यसबाट मानवीय क्षति रोक्न सकिंदैनथ्यो ?

अवश्य पनि, ती परिघटनाहरुबाट मानवीय र भौतिक क्षति तथा असरहरु रोक्न सकिन्छ यदि विज्ञहरुको सल्लाह, सुझाव बमोजिम व्यवस्थित रुपमा र दीर्घकालिन सोचकासाथ काम गरेको खण्डमा । विपद् रोकथाम र क्षति न्यूनीकरणका लागि भन्दा पनि हाम्रो काम गर्ने शैली र प्राथमिकता विपद्को बेला या विपद् पश्चात्को प्रतिकार्यमा देखिन्छ । हो, प्रतिकार्य पनि अपरिहार्य छ तर यसले त क्षति न्यूनीकरण र विपद् रोकथाम हुन सक्दैन । सबभन्दा महत्वपूर्ण कुरा रोग लाग्न नदिनु हो । रोग लागेपछि त उपचार गर्नै पर्छ, त्यसमा कुनै दूईमत छैन ।

त्यसो भए के गर्न सकिन्छ

उदाहरणको लागि, हालै बागमती नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई हेर्ने हो भने, यसलाई किन रोक्न सकिएन त ? रोक्न सकिन्थ्यो, रोक्न सकिन्छ तर सम्बन्धित सरोकारवालाहरु, तपाईं, हामी सबैको भूमिका, जिम्मेबारी र काम गर्ने पद्धतिमा विशेष ध्यान पुर्याउन जरुरी र अनिवार्य छ । सरकारले गर्ने विकास निर्माणका कामहरु वितरणमुखी भयो भन्ने आरोप र गुनासो सुनिन्छ । त्यस्ता कामहरु नतिजामुखी हुन जरुरी छ । जुनसुकै विकास निर्माणका कामहरु गर्दा विपद्लाई ध्यानमा राखेर काम गरिनु पर्दछ । विस्तृत अध्ययन र अनुसन्धानको आधारमा बागमती नदी व्यवस्थापनमा काम गर्नु जरुरी छ । आजभन्दा २० वर्ष अगाडि, ४० वर्ष अगाडि, त्यो भन्दा पनि अघि बागमती कस्तो थियो ? कसरी र कहाँबाट बग्थ्यो ? यसको ऐतिहासिक अध्ययन गरिनु पर्दछ । अधिक वर्षा हुँदा पानीको बहाव कतिसम्म हुन्छ, हिउँदमा पानीको मात्रा कति हुन्छ, यी सब अध्ययनभित्र पर्ने विषय हुन् । वर्षा मापन अर्को महत्वपूर्ण पक्ष हो । हरेक वर्ष, अझ भनौं मनसुनको समयमा दैनिक वर्षाको तथ्यांक हेरिनुपर्दछ जुन कार्य जल तथा मौसम पूर्वानुमान महाशाखाबाट भइरहेको छ । कति मात्रामा पानी पर्दा खोला नदीमा पानीको बहाव कति हुन्छ, यो पनि अनिवार्य रुपमा हेरिनु पर्दछ र अध्ययन गर्नुपर्दछ ।

यी सबै अध्ययन र अनुसन्धानको आधारमा बल्ल कस्तो संरचना बनाउने, कहाँ बनाउने, कति बनाउने, कहिले बनाउने आदि कुराको निर्धारण गर्न सकिन्छ । बागमती नदीमा भएका ती सबै भौतिक संरचनाहरु विस्तृत अध्ययन र अनुसन्धानको आधारमा बनाइएका हुन् कि हैनन् ? अधिक वर्षा मापन गरिएको बेला नदीमा पानीको बहाव कहाँसम्म पुग्छ ? अहिले बागमती नदीको बहाव क्षेत्र अर्थात् सरल भाषामा भन्दा खोला घरान कति मिटर फराकिलो छ ? त्यो पर्याप्त हो कि होइन ? यदि हो भने पानी किन बस्ती भएको ठाउँसम्म पुग्यो ? यदि नदीको दायाँ बायाँ बनाइएका पर्खाल र तटबन्धको उचाई पर्याप्त थियो भने किन ओभरफ्लो भयो त ?यी अत्यन्त महत्वपूर्ण र विचारणीय पक्ष हुन् । धेरैको फोहर बिसर्जन गर्ने थलो बनेको देखिन्छ बागमती । के बागमती ढल हो या डम्पिङ साइट ?नदीले नदीको रुपमा बिना व्यवधान बग्न पाउने कि नपाउने ? नदी किनाराबाट कति मिटरसम्म मानव बस्ती बसाल्न नमिल्ने ? यी सबै मापदण्ड पालना भएका छन् या छैनन्, यो गहन विषय हो । त्यसैले अहिले एउटा भाष्य स्थापित भएको छ, “बाढी बस्तीमा पसेको हैन, बस्ती चाहिं खोलामा बसेको हो ।”

यसको अर्थ खोला किनारमा बसोबास गरिरहनु भएका समुदायलाई अपमान र अनादर गर्न खोजिएको होइन । तर उचित बस्ती व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्दछ । बाँच्न पाउनु आम नागरिकको अधिकार हो चाहे खोला किनारमा बसेका हुन् या पहाडको फेंदमा, चाहे हिमाली भेगतिर बसेका हुन् या तराईका फाँटहरुमा । बस्ती बस्न योग्य स्थानहरुमा मात्र अनुमति प्रदान गरिनु पर्दछ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, भू–उपयोग नीति जस्ता दस्तावेजहरु कार्यालयको टेबल र दराजमा मात्र सुरक्षित राख्ने होइन, स्थलगत रुपमा व्यवहारमा लागू गरिनु पर्दछ । कार्यान्वयन पक्षको उचित तवरले अनुगमन र मूल्यांकन गरिनु पर्दछ ।

मैले यहाँ उल्लेख गरेका कुराहरु बाढीबाट हुने क्षतिको रोकथाम र न्यूनीकरणका लागि पर्याप्त नहोलान् । समुदायको सचेतनाको अवस्था, क्षमता, नदीसँगको सम्मुखता, जिम्मेबारीहरुको बारेमा उल्लेख गरिएको छैन जुन त्यत्तिकै महत्वपूर्ण छन् । यहाँ मैले केहि आधारभूत कुराहरु मात्र उल्लेख गरेको हुँ । अन्य धेरै पक्षलाई समेटेर दीर्घकालिन सोच र योजनाका साथ काम गर्ने हो भने बाढीबाट हुने क्षति र असरहरुलाई रोकथाम तथा न्यूनीकरण गर्न सकिन्छ । यो सम्भव छ । यतातिर सम्बन्धित सरोकारवालाहरु सबैको ध्यान जाओस्, मेरो अनुरोध छ र शुभेच्छा पनि ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here