मेचीनगर र कचनकवलमा दलहरुको विरोध

0
17

मेचीनगर ।

झापाको मेचीनगर नगरपालिकाको नेतृत्वले नगरको सबै क्षेत्रलाई स्वेच्छाचारिता ढंगले सञ्चालन गरेको भन्दै स्थानीय ६ वटा राजनीति दलले बिरोध जनाएका छन् ।

नगरपालिकाको कार्यशैली सच्याउन माग गर्दै यसअघि पटकपटक ध्यानाकर्षण गराउँदै आएको ६ वटा राजनीतिक दलले नगर प्रमुखलाई शुक्रबार संयुक्त रुपमा २१ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले शुक्रवार विहान कार्यालय खुल्ने समय पारेर जुलुससहित नगरपालिकामा २१ बुँदे माग पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा स्थानीय राजनीति दलसँग समन्वय नै नगरी आफुखुसी गरिएको निर्णय सच्याइनु पर्ने, मेचीनगरको छुट जग्गा वर्गीकरण प्रक्रियाले सर्वसाधारणले सास्ती भोग्दै आएकाले त्यसलाई छिटो–छरितो बनाउनुपर्ने । मेचीनगरले अनुगमन नगर्दा नियम मिचेर निन्दा खोलामा उत्खनन् गरेकै कारण शिक्षक धनराज भण्डारीको डुवेर मृत्यु भएको बिषयलाई सत्यतथ्य बाहिर ल्याउनुपर्ने । मेचीनगर–४ का वडाध्यक्षले नगरपालिकामा भ्रष्टाचार बढेको भनी लगाएको आरोपको छानबिन गरी दोषीमाथि कार्बाही गर्नुपर्ने ।

नगरका गौरवका योजनाहरु तय गर्दा व्यापक छलफलपछि निर्णय गर्नुपर्नेमा गत आबमा कृषि मण्डीको रुपमा राखिएको जग्गालाई चालू आबमा खेल मैदानको ब्यवस्था गरिएकोले त्यसलाई हेरफेर गरिनुपर्ने लगायतला २१ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट क्षेत्रीय संयोजक भाष्कर घिमिरे, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले हस्ताक्षर गरेका छन् ।

उता दक्षिणी झापाको कचनकवल गाउँपालिकामा बढ्दो बेथितिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ । माओवादी केन्द्र कचनकवल गाउँपालिका कमिटीले यस क्षेत्रका जनताको गुणस्तरीय निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार, कृषि मल बिउँ अनुदान एवम् उचित मूल्यमा उत्पादन खरिद साथै समग्र गाउँपालिकाको विकास र समृद्धि आकांक्षाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै लिखित रूपमै सूचनाको विवरण माग गरेको छ ।

माओवादी केन्द्र पालिका अध्यक्ष शुक्रराज लिम्बु (किरण) नेतृत्वमा गएको पदाधिकारीहरूको टोलीले शुक्रबार दिउँसो गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई भेटेरै सो बारेमा ध्यानाकर्षण गराउँदै ५ बुँदे सूचनाको विवरण माग गरेका हुन् ।

माओवादी केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न कार्यक्रम र खर्च विवरण अनुसार गत असार महिनाको विकास कार्यक्रम र खर्च, आर्थिक वर्षकै यातायात (इन्धन) र खाजा खर्च, पानी खरिद विवरणको खर्च, कर्मचारी एवम् शिक्षक नियुक्ति विवरण र असार महिनामा सम्पन्न गरेको मर्मत एवम् सम्भार खर्चको विवरण माग गरिएको अध्यक्ष लिम्बुले जानकारी दिए ।

साथै साना किसान सहकारी संस्था बालुवाडीका बचतकर्ता पीडितहरूको बचत फिर्ता सम्बन्धमा गाउँपालिकामा ज्ञापनपत्र पेस गरिएको करिब एक वर्ष भइसक्दा पनि सुनुवाइ नभएकोले गाउँपालिकाको दृष्टिकोण सार्वजनिक सम्बन्धमा पनि ध्यानाकर्षण गराइएको उनको भनाई छ । कचनकवलमा बसोबास गर्ने बहुसङ्ख्यक जनताको आर्थिक अवस्था एवम् दैनिकी कष्टकर रहेकोले गाउँपालिकाले सञ्चालन गरेको नीति तथा कार्यक्रमहरूको बारेमा अनविज्ञ रहेको छ ।

माओवादी केन्द्र जनताको अधिकार, न्याय र विकासको निम्ति पलपल एवम् सदैव लोकतान्त्रिक तरिकाले आवाज उठाउन प्रतिबद्ध छ साथै आम जनतालाई गाउँपालिकाले सञ्चालन गरेको हरेक गतिविधिबारेमा जानकारी गराइ जनताको आवाजलाई प्रतिनिधित्व गर्न हामी सबैको दायित्व रहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here