परिवर्तन

0
11

अजेय कविता ‘यदि विश्व बनाउनु छ भने आफू बने पुग्दछ ।’ यो प्रसङ्गलाई घण्टौं व्याख्या गर्न सकिन्छ । यो ध्रुवसत्य यथार्थ पनि हो । संसार परिवर्तनशील छ । मानव सभ्यताको इतिहासले पुष्टि गरेकै छ । त्यसैले अब पनि हिजो गरेकै काम र कुरामा अल्मलिने हो भने हामी भुइँमान्छे मै दर्ता हुन्छौं । अब विज्ञान, प्रविधिको जमाना आयो । हिजो जस्तै बिरालो बाँधेर श्राद्ध गर्दा अब पछि परिन्छ ।

परिवर्तन कसले थाल्ने ? प्रश्न अगाडि छ, तर उत्तर पनि सँगै छ, आफैंबाट शुरु गर्ने । हिजो गरेका कामलाई टेकेर आज अलिक फरक किसिमका कामधन्धामा लाग्यौं भने भविष्य उज्ज्वल हुन्छ । बाजेले, बाबुले, हामीले गरेका कामभन्दा हाम्रा सन्तानलाई फरक चाहिएको छ । त्यो फरक अब व्यवहारमा उतार्नु पर्छ, नत्र समयले हामीलाई धिकार्छ । परिवर्तनका सम्वाहक भनेका ठूलाबडा र नेतृत्व पंक्ति नै हुन् । अब पनि सभा समारोह नारेर आसन र भाषणमा दिलोज्यान दिँदै गयौंँ भने सृजनात्मक काम कसले र कहिले गर्ने ? थोरै प्रयास गरौं कि ।

क) समयको सदुपयोग :

समय ईश्वर हो, एक सेकेन्ड पनि समयको दुरुपयोग गर्नुहुँदैन । किनभने बगिरहेको खोलाले एकछिन थकाई मार्दैन । वायु आफ्नो गतिमा चलिरहन्छ । पलपलमा हाम्रो आयु सकिँदै जान्छ । प्रकृतिले समय पटक्कै छोडेको छैन । तर हामी मानव, त्यसमा पनि अगुवा भनाउँदाहरु सभा, बैठक, भेला, तालिम, गोष्ठीमा भनेको समयभन्दा निकै ढिलो गरेर आउँछौं र आफ्नै दुखेसो सुनाउँछौं । अर्को जो समयको बारेमा सचेत छ, त्यसको अमूल्य समय तपाईं ढिलो उपस्थित हुनेले खानु भयो । मुख्य पाहुना नै समय बिताएर आउने, अनि मेरो समय ! कठै, एकपटक विश्व रङ्गमञ्चतिर नजर लाउनुहोस् त, समयको महत्व कति हुँदोरहेछ ।

ख) आसन ग्रहण र भाषण :

आफ्नै संस्थाका आयोजकलाई पनि आसन चाहिने, प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण, कठै ! विश्वका ठूला–ठूला सभा सम्मेलनमा ीबमष्भक बलम नभलतझिबल (भद्र महिला गण) भन्दा हुन्छ । तपाई हामीलाई प्रमुख व्यक्तित्व, नेतृत्वगण, अभिभावक भन्न पाए हुन्थ्यो । अतिथि भनेको खबर नगरी आउने (तिथि मिति बिनाको)लाई मुख्य संकेत गरिन्छ । अझ सभाको अध्यक्ष र एक–दुईलाई अभिभावक राखेर सम्पूर्ण श्रोतालाई एकमुष्ठ आसनग्रहणभन्दा समय र समानता हुनेछ । श्रोता बाहेक तपाईंहरुको सभा चल्दैन । त्यो पक्षलाई मुख्य स्थानमा राख्न पाए उत्तम हुने थियो । उद्घोषकले बहुबचनमा उद्घोषण गर्न पाए त्यो सभाको अध्यक्ष उपस्थित सबैको हुने थियो । गर्दछुका ठाउँमा गर्दछौं भन्न किन कञ्जुस्याइँ ?

उद्घोषकको मात्र हुन् भने गर्दछुलाई मानौं, हामी सबैका पाहुना हुन् भने गर्दछौं भनौं । अग्रस्थानमा बस्नेलाई म ठूलो, जान्नेमान्ने भन्ने भावना हुन्छ नै । अनि बोल्ने क्रममा पनि त्यो ब्यानर पढ्न कोल्टिनु पर्ने । यस गरिमामय सभाका सभाध्यक्षज्यू, उपस्थित लब्धप्रतिष्ठित भनेर श्रोतालाई चाहिँ मुख्य सम्बोधन गर्न पाए उत्तम हुन्थ्यो । श्रोता नभए तपाई हाम्रो आसन र भाषणको के मतलब ? ब्यानर पढेर आफ्नो कमजोरी नदेखाउँदा राम्रो ।

सम्बोधनमा पनि मैले मान्नुपर्ने भन्न थाल्छौं । मान्नु पर्ने भए नमान्नु पर्ने चाहिँ कति ? नमान्नु पर्ने उपस्थित भएर त मान्नु पर्ने भनियो । बोल्दा पनि समय र प्रसङ्गको मात्र छोटो, छरितो, व्यावहारिक कुरा गर्दा पुग्छ । श्रोता छट्पटाउन थालेपछि मेरो कुरा बिकेन भन्नु र छोट्याउनु नि । धेरै बोलेर मेरा दुई शब्द कठै ! दुईशब्दको भाषण नै हुँदैन । बीच–बीचमा धन्यवाद दिन चाहन्छु भन्छौं, भर्खर चाहँदैछौ दिने कहिले ? धन्यवाद दिन्छु भनौं कि कसो ? अझ सुन्न पाए हुन्थ्यो भन्दै गर्दा समापन गर्दा राम्रो हुन्छ । बढी आसन र भाषणबाट देखिएको बेफाइदा चाहिँ के भने तपाईंका लामा कुराले श्रोता दिक्क भई आफ्नो घरको कामको कारण लाखापाखा लागेपछि ‘बन्द सत्र’ भन्दै अगाडि सही गरेकै छ, निर्णय गराउँदा कति व्यावहारिक होला ?

समाजलाई सकारात्मक रुपान्तरण गर्ने मुख्य थलो विद्यालय हो । विद्यालय समाजको मन्दिर हो । शिक्षक पुजारी हुन्, विद्यार्थी भगवानका प्रतिमूर्ति हुन् । तसर्थ समय, श्रम, सद्भाव, माया, प्रेम बाँडेर सबैलाई एकै मालामा बाँध्न विद्यालय परिवारले भूमिका खेल्नु पर्छ । हाम्रा अभिभावक सर्वोपरी ठानेर सबैलाई समान व्यवहार गरौं । आफ्ना नानीहरुको समस्या राजा, देवता सबै कामका अलवा एकदिन भए पनि नानीहरुको नाँच गानबाट मनोरञ्जन लिने उद्देश्यले भेलामा उपस्थित हुन्छन् । तर, समय अभावले नानीहरुको नाँच गौण हुन्छ ।

अन्त्यमा सबै समस्याहरुका समाधान हुन्छन् । यी माथिका समस्याहरुको एकमात्र समाधान तपाईं नेतृत्व पंक्तिका अग्रजले आफ्ना सेवा क्षेत्रका सम्पूर्ण संघ–संस्थालाई भेला गरी गराई एक व्यावहारिक कार्यपत्र प्रस्तुत गरेर छलफल र निचोड निकालेका खण्डमा व्यावहारिक, सिर्जनात्मक वातावरणबाट तपाईंको नेतृत्व सफल हुनेछ । हार्दिक शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here