विवेकको अन्त्य भएमा विभेदको बाटो खुल्छ

0
13

‘समाज परिवर्तनका लागि अभियान’ संंस्थाको साधारणसभा आज हुँदैछ । सभालाई खुला र बन्दसत्र गरी दुई सत्रमा पिभाजन गरिएको छ । उद्घाटन सबैभन्दा ज्येष्ठ स्थानीय महिलाबाट भयो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्षबाट प्रस्तुत गरियो । यसपछि सांगठनिक र आर्थिक प्रतिवेदन क्रमशः सभाका अध्यक्ष र कोषाध्यक्षबाट पेश भए । सांगठनिक र आर्थिक प्रतिवेदनमा उठेका सवाल जवाफको बारेमा छलफल गर्ने कार्य बन्दसत्रमा हुने कुरा जानकारी गराइयो । यसपछि ‘सामाजिक विभेद न्यूनीकरणका लागि संस्थाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरियो । यो कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी अलखानन्दनलाई दिइएको थियो ।

कार्यपत्रको विषयवस्तुलाई अलखानन्दनले प्रशिद्ध धार्मिक आख्यानका रुपमा रहेको महाभारतमा उल्लेखित युधिष्ठिर र जलदेवताका बिचमा भएको कुराकानीलाई लिएर एउटा दृष्टानन्त प्रस्तुत गरे । महाभारतमा उल्लेख भए अनुसार जलदेवताले युधिष्ठिरलाई प्रश्न गरे– ‘हे धर्मराज ! ब्राहमण को हुन ?’ यस प्रश्नमा युधिष्ठिरको जवाफ यस्तो थियो– ‘स्मृतिमा उल्लेख भए अनुसार जो सत्यवादी, दानी, दयालु, क्षमाशील र चरित्रवान छ साथै अरुप्रति सहानुभूति राख्ने र तपश्वी पनि छ भने त्यो ब्राह्मण हो ।’ जलदेवताले पुनः प्रश्न गरे– ‘यदि यिनै माथि उल्लेखित गुण र लक्षण कुनै शुद्रमा देखा प¥र्यो भने उसलाई के भन्ने ?’ युधिष्ठिरले फेरि भने– ‘यदि माथि उल्लेखित गुण र लक्षणहरु कुनै शुद्रमा पाइयो भने उसलाई शुद्र नभनेर ब्राह्मणको कोटीमा राख्नु पर्दछ ।’ यसअर्थमा वर्ण व्यवस्था भनेको जाति विशेषको विभाजन गर्ने व्यवस्था होइन । जाति विभाजन गर्ने कुरा हिन्दू दर्शनको अपव्याख्या मात्र हो ।

हिन्दू दर्शनको अपव्याख्या गरिएका कारणले गर्दा आज समाजमा एक–आपसमा विभेद खडा गर्ने कार्य भइरहेको छ । वास्तवमा वर्ण व्यवस्था कर्म विभाजनसँग सम्बन्धित छ । मानिसको योग्यता र सिप अनुसार काम गर्न विभाजन गरिएको एउटा रुपरेखा मात्र हो वर्ण व्यवस्था । जहाँसम्म कर्म विभाजन गर्ने कुरा छ । त्यो पनि रङ्गका आधारमा नभएर गुण र प्रवृत्ति आधारमा हुन्छ । जसको उद्देश्य उचित व्यक्तिलाई उचित पेशामा स्थान दिनु हो । यसबाट के स्पष्ट हुन्छ भने वर्ण व्यवस्था भनेको जातपातको विभाजन गर्ने व्यवस्था होइन । जातपातकै नाममा पनि सानो ठूलो भन्ने होइन । पानी चल र अचल भन्ने होइन ।

यो त मात्र कार्य विभाजन होे । तर, आज हामीले धर्मका नाममा, संस्कारका नाममा, शास्त्रका नाममा अशल मनसायका साथ स्थापित वर्ण व्यवस्थालाई जातीयताका रुपमा भ्रम फैलाइरहेका छौ । सामाजिक स्वरुपमा यो संस्कारलाई भ्रमबस सानो–ठूलो जातजातिका रुपमा रुपान्तरण गरेका छौ । यो सरासर गलत होे । एउटा अशल संस्कारको रुपमा प्रयोजनमा ल्याइएको व्यवस्थालाई अर्कै कुसंस्कारको व्यवस्थापनका लागि उपयोग गरियो । जसले आज हाम्रो समाजमा जातपातको नाममा, उच्च र निचवा ठूलो र सानो भन्दै समाजमा उचाल पछाल गरिरहेका छौं । जसले गर्दा यो विभाजन आज व्राह्मण, वैश्य, क्षेत्री, शुद्रमा मात्र सिमति छैन । यो त ती उत्पीडित वर्गका रुपमा रहेका स्वयम् दलित जातिमा पनि कामी, दमाइ, सार्की, गाइने, वादी हुँदै डुमका बीचमा पनि एकअर्कामा विभेद भएकोे देखिन्छ । यसले समाजमा मानव मानवका बीचमा ठूलो खाडल तयार गरेको छ । विभेदका नाममा एक मानवले अर्को मानव माथि अन्याय गरेको छ । शोषण गरेको छ । अलखानन्दनबाट यी विचार कार्यपत्र मार्फत प्रस्तुत गरिए ।

यसपछि उनी भन्दै गए । हाम्रो समाजमा महिलामाथि हुने विभेद पनि व्यक्तिगत र समूहगत रुपमा छन् । हाम्रो संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मान्न सिकाएको छ । ज्ञान प्राप्तीको नाममा सरस्वती, धन प्राप्तीका नाममा लक्ष्मी र शक्तिका प्राप्तीका नाममा काली नाम लिने गर्दछौं । यी देवीको नाममा हामी समाजमा नारी जातिको पूजा गर्दछौं । नारीको सम्मान गर्दछौ । तर, यी नारीलाई सम्मान गर्ने कुरा पनि हाम्रा सिद्धान्तमा मात्र सिमित छन् । व्यवहार त ! हामी महिलाहरु माथि हरेक पलमा कुनै न कुनै रुपमा विभेद गरिरहेका हुन्छौं । नेपालले वि.सं.२०५९ सालमा नै गर्भपतनलाई कानूनी मान्यता दिएको थियो ।

यसले महिलाका हकहित र अधिकारका क्षेत्रमा अग्रगामी कदम उठाएको थियो । तर, आजसम्म पनि आमाको नामबाट दिइने नागरिकताको विषयमा भने हामी विवादरहित बन्न सकेका छैनौं । हामी संकुचित छौं । नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजकै आधारमा नागरिकता पाउने कुरा कानूनमा उल्लेख गरिएको छ । तर, बाबुको पहिचान हुन नसकेको पुष्ट्याइसहित स्वघोषणा गर्नुपर्ने भनी पुनः महिलाको अधिकारमाथि अंकुश लगाउने प्रयास भएको छ । यसको व्यापक विरोध भएकाले यसमा केही सुधार गर्ने प्रयास भए तापनि पूर्णता प्राप्त गर्न सकेको छैन । महिलाहरुको विशेषगरी गर्भधारण गर्ने कुरा रबच्चा जन्मिएपछि आमाको नामबाट नागरिकता लिन पाउने कुरा सम्बोधन गर्ने प्रयास भएता पनि व्यवहारमा त्यतिी सहज र सरल भएको अवस्था आज पनि छैन ।

हामी धन्य छौ । भोक लाग्यो अन्नपूर्ण, ज्ञान चाहियो सरस्वती, धन चाहियो लक्ष्मी र शक्ति चाहियो भने काली वा दुर्गालाई पुकार्दछौ । व्यवहारतः हामीे नारीलाई देवी अनि छोरीलाई लक्ष्मी मान्छौं । तर, हामी तिनै छोरीलाई भ्रुणमै हत्या गर्दिन्छांै । आज पनि हाम्रो समाजमा पितृ सतात्मक व्यवहार यथावत छ । समाज रुपान्तरण र विकासका नाममा यसले एउटा कलंकको रुप धारण गरेको छ । यसर्थ यसप्रकारका घटनालाई हाम्रो सामजिक संरचनाका नाममा भएको कुसंस्कार हो भनेर घोषणा हामीले गर्नु पर्दछ । साथै जतिसक्दो छिटो यसप्रकारका विभेदबाट समाजलाई मुक्त गराउनु पर्दछ ।

उत्पत्ति कालमा हामी एउटै परिवारका सन्तान थियांै । आज उच्च र निच, पानी चल्ने र नचल्नेका नाममा हामी आपसमा लडिरहेका छौं । अतः हामी जात विशेषका नाममा कोही पनि साना–ठूला छैनांै । सबै समान छौं । यही भावनालाई आत्मसात गर्दै समाजका सबै वर्गलाई सचेत गराउनु पर्दछ । यो हाम्रो कर्तव्य हो । अतः विभेद अन्त्य गर्ने महत्त्वपूर्ण कडी भनेको समाजमा रहेका मानिसमा ल्याउने जागरण नै हो । यसपछि विभेद अन्त्यका लागि आवश्यकपर्ने कानूनको निर्माण गर्नु हो । निर्मित कानूनलाई निष्पक्षतापूर्वक कार्यान्वयन गर्न सहयोग गर्नु हो । यसो गर्न सकियो भने समाजमा भएका विभेदको न्यूनीकरण गर्नमा सहयोग पुग्नेछ ।

हाम्रो समाजमा विभिन्न स्वभाव र प्रकृतिका मानिसहरुले बसोबास गरेका हुन्छन् । जसमध्ये कोही मानिसहरु सकरात्मक सोचका गुणी हुन्छन् । तर, कोही मानिसहरु जसको उद्देश्य भनेको राम्रा काम गरेर ख्याति कमाउनेभन्दा पनि हरेक कुराको विरोध गरेर आफ्नो पहिचान बनाउने हुन्छ । पुल बनाउनेभन्दा विगार्ने प्रकृतिका मानिस समाजमा जरा गाडेर बसेका हुन्छन् । अतः हामीले त्यस प्रकारका प्रवित्ति भएका मानिसहरुको पहिचान गर्नु पर्दछ । ती मानिसहरुसँग हामीले हरेक क्षणमा विवेक पु¥याएर मात्र कार्य गर्नुपर्दछ । यदि हाम्रो विवेक तलमाथि भयो वा गुमाउन पुग्यौं भने समाजमा यिनै नकरात्मक सोच भएका मानिसहरुको हाली मुहाली हुन्छ । उनीहरु नै अगुवा हुन्छन् । जसले समाजलाई कुबाटो तर्फ डो¥याइरहेका हुन्छन् । हामी पनि उनीहरुकै पछि लाग्न बाध्य भइरहेका हुन्छौ । अन्यथा हामी केवल मुक दर्शक मात्र हुनेछौं । हाम्रो भूमिका गौण हुन जान्छ ।

आजको हाम्रो मुख्य समस्या भनेको ती मानिसको आवाज कसरी सुन्ने वा सुनाउने हो ? जो समाजमा गरीब, दीन, हीन, दुःखी र पीडित छन् । बनी गर्ने मजदुर छन् । भारी बोक्ने भरिया छन् । गोठाला छन् । खेताला छन् । जातजातिका नाममा पीडित छन् । समूहका नाममा पीडित छन् । महिलाका नाममा पीडित छन् । यी वर्ग र तप्काका मानिसहरुको आवाजलाई हामीले कसरी सम्बोधन गर्नेे ? यीे हाम्रा लागि अहम् सवाल मात्र होइन चुनौति बनेका छन् । त्यस्ता वर्गको आवाजलाई केन्द्रित गर्न के–कस्ता योजना बनाउन हो । योजना कार्यान्वयन गर्नके कस्ता कार्यनीति अपनाउने हो ? भन्ने सोचाइ राख्ने हाम्रो अभियानको मुख्य लक्ष्य हुनुपर्दछ । योजना अनुरुप ती पीडित जनमानसलाई प्रभावित पार्ने कार्यक्रमहरु लिएर हामीहरु उनीहरुको घर दैलोमा पुग्नुु पर्दछ ।

समाजमा दास प्रवृत्तिका मानिसहरु पनि हुन सक्छन् । जसको काम भनेको समाजमा रहेका शोषित, पीडित, गरीब, किसान, मजदुरहरु आदिलाई मुर्ख बनाउने हो । दास बनाउने हो । यस अवस्थामा सम्बन्धित वर्गलाई दासत्वबाट बच्न सचेत गराउने कार्य अब हामीले गर्नु पर्दछ । समाजमा व्यक्तिमात्र पीडित हुँदैनन् । समुदाय नै पनि पीडित हुन सक्छन् । त्यसैगरी पीडित एउटी महिला मात्र होइन । समुदायका सबै महिलाहरु पीडित हुन सक्छन् । उनीहरुको आवाजको लेखाजोखा गर्दै राज्य समक्ष पु¥याउने भूमिका हामी र हाम्रा जस्ता संस्थाको हुनु पर्दछ । जसले समुदायको हितमा राज्यलाई पनि पगाल्न सकोस् । यस प्रकारका प्रणालीको विकास संस्थाको तर्फबाट गर्नु पर्दछ । प्रणालीको विकास गर्दैगर्दा यो पनि सोच्नु पर्छ । प्रणाली स्वयम्मा उपलब्धि भने होइन । यो त माध्यम मात्र हो । यही माध्यममा टेकेर समाजमा प्रभाव पार्ने साधनका रुपका क्रियाकलाप हाम्रा हुनु पर्दछ । आयआर्जनका पक्षमा यस संस्थाले गरेका कार्यहरु सह्र्रनीय छन् । यसलाई अझ परिस्कृत गर्दै सुधार गर्नु पर्दछ । जब आयआर्जनमा सुधार आउँछ । तब समाजमा व्यक्तिको जीवनशैलीमा पनि सुधार आउँछ । व्यक्तिको जीवनशैलीमा आएको परिवर्तनले सामाजिक संरचनामा पनि परिवर्तन आउँछ ।

सामाजिक संरचनामा परिवर्तन आउनु भनेको समाजमा हुने गरेका विभेदको अन्त्य हुनु हो । काम गर्ने दौडानमा हामी समक्ष अनेकौ चुनौतिहरु आउन सक्छन् । ती चुनौतिको सामना गर्न हामी दृढ भएर एकमतका साथ लाग्यौ भने त्यस प्रकारका चुनौति सामना गर्ने शक्ति हाम्रा जस्ता संस्थालाई प्राप्त हुन्छ । संस्था भनेको सङ्गठन हो । सङ्गठनमा तागत हुन्छ । त्यही तागतको उपयोग हामीले गर्नुपर्दछ । अब बाँकी भनेको समाजमा के गर्ने ? के नगर्ने ? भन्ने हो । यसका बीचमा भएको भिन्नता छुट्याउनका लागि हामीमा विवेक चाहिन्छ । अतः विवेक पु¥याएर काम गर्नु पर्दछ । यदि विवेक गुम्न गयो भने संस्था अप्ठेरोमा पर्न सक्छ ।

विभेदको खाडल अझ फराकिलो हुन्छ । विवेकको अन्त्य नै भयो भने त्यसले संस्था, समुदाय, समाज र राष्ट्रको लागि सर्बनासको बाटो निम्त्याउँछ । सर्वनास त्यसबेला हुन्छ । जब विभेदको बाटो खुल्छ । यसले एउटा बिराउने, शाखा पिराउने हुन्छ । परिणाम समाजले भोग्नु पर्दछ । यदि त्यस्तो भयो भने त्यही समाजले त्यसपछिका दिनमा तिनै गलत क्रियाकलापलाई प्रश्रय दिन थाल्दछ । समाजले पनि तिनै गलत कुरालाई पछ्याउन थाल्दछ । निर्देशन दिन्छ । यसको असर विस्तारै–विस्तारै तिनै समाजभित्र स्थापना भएका संस्थामाथि पर्दछ ।

यसबेला हाम्रो संस्था पनि अछुतो रहने छैन । यस अवस्थाबाट बच्नका लागि संस्थामा कार्य गर्ने व्यक्तिहरु सदा सचेत हुनु पर्दछ धन्यवाद । अलखनन्दनले प्रस्तुत गरेका कुराहरुलाई सभाले कर्तल ध्वनीका साथ स्वागत र समर्थन गरे । केही सामान्य सुझावहरुका साथ उक्त कार्यपत्रमा उल्लेखित कुराहरुलाई संस्थाको मार्गदर्शन र सम्पत्ति बनाउने निर्णय गरियो । निर्णयका साथ खुला सत्रको अन्त्य अध्यक्षबाट भयो । यसपछि सभा बन्दसत्र तर्फ लाग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here