शंका

0
20

अहिले त कसले पत्याउला र ?
बरु मलाई पागल भन्लान्
तर, हामी एउटै कक्षा
एउटै स्कूल पढेका
उस्तै–उस्तै लाएर उस्तै–उस्तै खाएर
सँगैसँगै बढेका ।
तर, पढ्दा त्यो बेला
गुरुले मलाई सोझो ठानेर
छानी–छानी
नैतिकताका पाठ पढाए छन्
सेवा गर्दै
पसिनाको कमाइ खान सिकाए छन्
र उनीहरुलाई बाठा भनेर
राजनीतिका नाउँमा
बन्दुकले निर्दोष मान्छे भुटेर
कहिले नदी बेचेर
कहिले नागरिक बेचेर
यस्तै–यस्तै हरेक वर्ष
राष्ट्रिय बजेट लुटेर
कसरी अकूत सम्पत्ति
कमाउन सकिन्छ भन्ने
साम्यवादी र समाजवादी
अर्थशास्त्रका पाठ पढाएछन् ।

आफूले त
न बन्दुक पड्काएर
निहत्था जनता भुट्न सकें
न जातजाति भड्काएर
गरीब देश नै लुट्न सकें
न उनीहरुको झोला बोकेर
गोडा मोल्न सकें
न उनीहरुले चाहेका बेला
गधालाई गाई भन्दै
अघि सरेर बोल्न सकें
त्यसैले त अहिले
उनीहरुको गोमनको चाल छ
मेरो भ्यागुताको हाल छ ।

अब घरी–घरी मलाई
शंका लाग्न थालेको छ
यिनै मान्छे भुट्ने
र देश लुट्नेका लाइनमा
कतै हाम्रा गुरुको पनि
बस्ने चेयर त छैन ?
अझ त्यो भन्दा ठूलो शंका
यिनै मान्छे भुट्ने
र देश लुट्नेले
गरेका लगानीमा
कतै हाम्रा गुरुको पनि
शेयर त छैन ?

बिर्तामोड –५ झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here