बाह्रै महिना सडक सञ्चालन गर्ने वडाध्यक्ष राईको अभियानमा स्थानीयको साथ

0
18

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईको दैनिकी जनताको कामसँगै सडक मर्मतमा बित्ने गरेको छ । वडा कार्यालयको दैनिक काम तथा नगर कार्यपालिकाको बैठकबाहेक अधिकांश समय सडक मर्मत गर्दै गरेको अवस्थामा भेटिनुहुने वडाध्यक्ष राईको श्रमदान अभियानमा स्थानीय बासिन्दाले कम्मर कसेर साथ दिएका छन् ।

वडाध्यक्ष राईले सुरु गर्नुभएको श्रमदानमार्फत सडक मर्मत गर्ने अभियानले खार्मीबाट हुर्लुङ हुँदै दिक्तेल तथा राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न सहर आवतजावतमा सहज भएको छ । यसअघि हिउँदमा दुःखका साथ करिब छ महिनामात्र सञ्चालन हुने सडक श्रमदानमार्फत मर्मत गरिएका कारण बाह्रै महिना यातायात सञ्चालन भएपछि स्थानीय उपभोक्तासमेत हर्षित भएका छन् ।

खार्मीले जनताको प्रमुख समस्या सडक भएकाले बाह्रै महिना यातायात सञ्चालन गर्नेगरी श्रमदान अभियान सञ्चालन गरिएको वडाध्यक्ष राईले बताउनुभयो । “बाह्रै महिना सडक सञ्चालन भएमा कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने मेरो बुझाइ छ । हाम्रो प्रमुख समस्या भनेको सडक नै हो । वडामा आएको बजेटले स्तरोन्नति गर्नसक्ने सम्भावना छैन”, उहाँले भन्नुभयो, “सडकमा एउटा ढुङ्गा खस्यो भने पनि मन चसक्क हुन्छ । सडकमा खसेको त्यो ढुङ्गा नहटाएसम्म मेरो मनले मान्दैन । पटकपटक अवरुद्ध हुँदै आएको सडक श्रमदानमार्फत मर्मत गर्ने मेरो अभियानमा सबैको साथ र सहयोग पाएको छु । यसले मलाई हौसला मिलेको छ । श्रमदान अभियानका कारण बाह्रै महिना यातायात सञ्चालन भएको छ ।”

वडाध्यक्ष राईले सुुरु गर्नुभएको श्रमदान अभियानको सुुरुदेखि अहिलेसम्म स्थानीय भुवन राई, हेमन्त राई, राम तामाङ, ओमन श्रेष्ठ, राजन तामाङलगायत युवाले निरन्तर साथ दिइरहेका छन् । दैनिक वडाध्यक्ष राईसँगै खार्मीका अधिकांश स्थानीय बासिन्दाले श्रमदान अभियानमा साथ दिएका छन् ।

श्रमदान अभियानमा वडाध्यक्ष राईले एउटा बोलेरो भ्यानसमेत प्रयोग गर्दै आउनुभएको छ । अभियानका लागि आवश्यक औजार कतिपयले आफँै ल्याउँछन् भने कतिपयका लागि वडाध्यक्ष आफँैले खरिद गरेर राखेका छन् ।

राति पानी परेको छ भने गाडीसँगसँगै चार–पाँचजना युवा झम्पल, गैँती, सावेल र कोदालो साथमा लिएर मोटरसाइकलमा अगाडिपछाडि लाग्छन् । गाडी फसिएको ठाउँमा सहयोग गर्छन् र वारपार भएपछि घर फर्कन्छन् ।
श्रमदानमार्फत सडक मर्मत अभियान जुट्नुभएमा वडाध्यक्ष राईलाई देश–विदेशमा रहेका खार्मीलेले आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएका छन् । खार्मीमा जन्मिएर रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका व्यक्तिले वडाध्यक्ष राईसँगै श्रमदानमार्फत सडक मर्मत अभियानमा खटिने स्थानीय बासिन्दाका लागि खाना तथा खाजा खर्च गर्न सहयोग रकम उपलब्ध गराउने गरेका हुन् ।

विदेशमा रहनुभएकाहरूले वडाध्यक्ष राईको श्रमदान अभियानमा आर्थिक रूपमा भए पनि सहभागी हुन पाउँ भन्दै स्वतःस्फुर्त रकम पठाउने गरेको अभियानमा सहभागी भुवन राईले बताउनुभयो । “वडाध्यक्षज्यू, निर्वाचित हुनुअघिबाटै श्रमदानमार्फत सडक मर्मत अभियानमा सहभागी हुनुहुन्थ्यो । हामी सबैले खार्मीको नेतृत्व लिन अनुरोध ग¥र्यौँ । उहाँले पनि स्वीकार गर्नुभयो । अहिले उहाँले श्रमदानसँगै वडाध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको छ”, उहाँले भन्नुभयो, “वडाध्यक्षको श्रमदान अभियानमा अहिलेसम्म रु पाँच लाख सहयोग जुटिसकेको छ । खर्च पनि उही अनुपातमा भएको छ । तर, राज्यले लगानी गर्ने योजना हो भने करोडौँको काम श्रमदानमार्फत गरेका छौँ ।”

निर्माण गरेको लामो समयसम्म अवरुद्ध रहेको सडकमा अहिले दैनिक चारवटा यात्रुबाहक सानो गाडी सञ्चालनमा छन् । खार्मीबाट दैनिक बिहान ७ः३० बजे दिक्तेल तथा साढे ४ः०० बजे राजधानी काठमाडौँ छुट्ने गरेका छन् ।

खार्मी–हुर्लुङ दिक्तेल सडक करिब २३ किलोमिटर लामो छ । यो सडक खार्मीसँगै पाथेका, फेदी, खार्ताम्छा, बास्पानी र बाक्सिलाका स्थानीयका लागि राजधानी काठमाडौँलगायत सहर आवतजावतमा उपयुक्त मार्ग पर्दछ । श्रमदानबाटै नियमित यातायात सञ्चालन भइरहेको हुर्लुङ–खार्मी सडकका लागि यस वर्ष रु दुई करोड १७ लाख बजेट प्राप्त भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईको पहलमा सङ्घीय सरकारबाट प्राप्त बजेटले सडक फराकिलो पार्ने, ‘ड्रेन’ निर्माण तथा सोलिङ गर्ने योजना बनाइएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

खार्मीलाई सदरमुकाम दिक्तेल र राजधानी काठमाडौँ जोड्ने दुईवटा राष्ट्रिय सडकले छोएको छ । यो दुवै सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालनमा ल्याउन वडाध्यक्षको नेतृत्वमा श्रमदान अभियान चलाइएको हो । खार्मीबाट बाँझोबारी हुँदै देउराली–तालखर्क तथा सोल्मा हुँदै दिक्तेल जोड्ने सडक १७ किलोमिटर लामो छ । दिक्तेल–खार्मी–बाक्सिला नाम दिइएको यो सडकमा गत वर्ष करिब डेढ महिना श्रमदान गरिएको थियो । यद्यपि, यो सडक अहिले अवरुद्ध अवस्थामा छ ।

सदरमुकाम दिक्तेलबाट केपिलासगढी गाउँपालिका जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा वार्षिक बजेटसमेत उपलब्ध हुँदै आएको छ । प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत पर्ने दिक्तेल–खार्मी–बाक्सिला सडक कहिलेबाट नियमित सञ्चालन हुने भन्ने टुङ्गो छैन ।

अन्तरपालिका जोड्ने यो सडकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा समावेश गरेको छ । तर, उक्त सडकका लागि नगरपालिका एक्लैले प्रयाप्त बजेट उपलब्ध गराउने अवस्था छैन । प्रदेश सरकारसँगको साझेदारीमा यस वर्ष दिक्तेल–खार्मी–पाथेका सडकका लागि रु एक करोड बजेट व्यवस्था गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । कोशी प्रदेश सरकार र नगरपालिकाको रु ५०–५० लाख बजेटले यस वर्ष बोलपत्र आह्वान गरेर ड्रेन तथा ग्रावेलिङको काम गरिने नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here