झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

0
17

झापा ।

झापामा यस आर्थिक वर्षमा एक सय आठ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवासीय नागरिकता लिएको पाइएको छ ।

नेपालीहरूले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपर्ने नियम रहेको र यस आर्थिक वर्षमा मात्रै एक सय आठ जना नेपालीहरूले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विश्वराज नेपालले जानकारी दिए ।

यता यस आर्थिक वर्षमा १८ हजार २२ जनाले वंशजका आधारमा र ६ सय ९२ जनाले वैवाहिक अङ्गीकृतका आधारमा गरी १८ हजार ७ सय १४ जनाले नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार यस आर्थिक वर्षमा प्रतिलिपि नागरिकता निकाल्नेको संख्या झण्डै नयाँ नागरिकता बनाउनेकै हाराहारीमा रहेको पाइएको छ ।

झापामा यस आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १४ हजार ८ सय ४३ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् । राष्ट्रिय परिचयपत्र लगायतका लागि समेत कतिपय पुराना भएका नागरिकताहरू तथा हराएका नागरिकताहरू पुनः आवश्यक प्रक्रिया पूरा गरेर निकाल्नेहरूको संख्या बढेका कारण पनि यो संख्या बढेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

यसैगरी झापामा यस आर्थिक वर्षमा मात्रै एक लाख ३५ हजार ३ सय २१ जनालाई सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्र वितरण गरेको छ भने यस अवधिमा ५१ हजार ३ सय २४ जनाको परिचयपत्रका लागि आवेदन सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि अहिले झापाका १५ वटै स्थानीय तहमा अभियान समेत सञ्चालनमा रहेको जिल्ला प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here