विदेश पलायन रोक

0
13

प्रत्येक वर्ष देश छोड्ने नेपालीको संख्या बढ्दो छ । नेपाली युवाको देश पलायनको नमिठो चित्रले नेपालको भविष्य माथि नै खतराको संकेत गरेको भन्दै चिन्ता व्यक्त गर्नेहरु पनि छन् । स्वदेशमा सेवा, सुविधा, शिक्षा, रोजगारी र अवसर नै नभएको भन्दै बर्सेनि लाखौं युवा विदेशिइरहेको सनदर्भमा जिल्ला प्रशासन कार्यालय झापाबाट मात्र आफ्नो नागरिकता त्याग्ने नेपालीको संख्या बढ्न थालेको बताइएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विश्वराज नेपालले यसै आर्थिक वर्षमा मात्रै एक सय आठ जनाले नेपाली नागरिकता परित्याग गरेको जानकारी दिएका छन् । गैर आवासीय नागरिकता लिएका कारण उनीहरुले त्यहाँको कानून अनुसार उनीहरुले आफ्नो नागरिकता परित्याग गरेका हुन् ।

नेपालीको स्वेदश छाड्ने प्रतिष्पर्धाका बीच अन्य देशका नागरिक भने नेपाली नागरिकता प्राप्त गर्न अनेक तरिका अपनाइरहेका छन् । विभिन्न समयमा भएका घटनाहरुले यसलाई पुष्टि गरेका छन् । नेपाली देश छोड्न आतुर रहेका बेला खासगरी छिमेकी र सम्पन्न देशहरु भारत र चीनका कतिपय नागरिकले नेपाली नागरिकता लिएको र लिन खोजेको अनुसन्धानले पनि देखाएको छ । कतिपय आपराधिक घटनामा पक्राउ परेकाहरुसँग नेपाली नागरिकता भएको तर प्रहरी अनुसन्धानका क्रममा उनीहरु तिब्बत, चिनीया र भारतीय नागरिक रहेको पाइएको देखिएको छ । यस्ता घटनाहरु प्रायः सीमावर्ती क्षेत्र र राजधानी काठमाडौंमा बारम्बार देखिने गरेका छन् । गृहमन्त्रालयका अधिकारीहरुका अनुसार पाकिस्तान, भुटान, बङ्गलादेश, म्यानमार लगायतका देशका नागरिकले पनि नेपाली नागरिकता लिएका घटना फेला परेका छन् ।

हालसम्म गलत विवरण पेश गरी नेपाली नागरिकता लिएका मध्ये झण्डै दुई हजार वटा रद्द गरिएको छ भने सत्ताइस सयभन्दा बढी बदर गरिएको सरकारको तथ्यांक छ । त्यस्तै अध्यागमन कार्यालयले झण्डै एक हजार नेपाली स्थायी बसोबासको अनुमति पत्र प्राप्त गरेर सयभन्दा बढी देशमा बसिरहेका छन् । पच्चीस सयभन्दा बढी नेपालीले नागरिकता नै परित्याग गर्नुका पछिको कारण खोज्न ढिला गर्ने हो भने देशको अस्तित्व माथि नै कालो बादल लाग्ने निश्चित छ । त्यसो त हाम्रो बजेट, सरकारको अस्थिरता, रोजगारीको अभाव र सामाजिक असुरक्षा जस्ता कारणले प्रत्येक वर्ष पाँच लाख युवा विदेशी रोजगारी बजारमा जाने गरेको अध्ययनहरुले देखाएका छन् । त्यसैगरी विदेश जानुलाई सामाजिक प्रतिष्ठाको विषय ठान्ने मानसिकता पनि यसको अर्को कारण हुनसक्छ । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको पनि लक्ष्य अमेरिका, अस्टे«लिया, युरोप जानु नै रहेको देखिन्छ । यो मानसिकता, अवस्था र लक्ष्यलाई रोक्न र स्वदेशमै पढ्ने, सेवा गर्ने र रोजगारसँगै सुरक्षाको अनुभूति दिलाउने नीति तथा कार्यक्रम ल्याउन नसकिए नेपाल विदेशीहरुको ‘खेलभूमि’ हुने पक्का छ । यतातर्फ सरकार कै ध्यान जानुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here