मालपोत तथा नापी कार्यालय गौशालाबाट सेवा प्रवाह गर्दै

0
15

महोत्तरी,

यहाँको गौशालामा स्थापना भएको मालपोत तथा नापी कार्यालयले सेवा सञ्चालनको तयारी गरेको छ ।

केही वर्षपहिले कार्यालय स्थापना गरिए पनि जिल्ला सदरमुकाम जलेश्वरस्थित मालपोत तथा नापी कार्यालयबाट नक्सा, अभिलेखलगायत कागजात ल्याउन नसकिएपछि सेवा सञ्चालन हुन सकेको थिएन ।

सोमबार कार्यालयका लागि आवश्यक नक्सा, अभिलेख र कागजात ल्याइएको छ । उक्त कागजात ल्याइसकेपछि अब सेवा सञ्चालनको तयारी गरिएको कार्यालय प्रमुख जितेन्द्र झाले जानकारी दिनुभयो ।

सोमबार राती गौशालाका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको अगुवाइ तथा जलेश्वर र गौशाला मालपोत कार्यालयको समन्वयमा आवश्यक अभिलेख ल्याएपछि सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि जलेश्वरस्थित कार्यालयबाट कागजात ल्याउन जलेश्वरका लेखापढी व्यवसायीले विरोध गर्दै आएका थिए । कार्यालयले एक साताभित्रै सेवा सुरु गर्ने तयारी गरेको प्रमुख झाले बताउनुभयो ।

“कार्यालय प्रयोजनका मोठ, स्रेस्ता, नक्सा, अभिलेख र सम्बद्ध कागजात आएका छन्”, झाले भन्नुभयो, “यिनलाई व्यवस्थित गर्न एक साता लाग्छ होला, त्यसलगत्तै सेवा सुरु गर्नेछौँ ।”

नापी तथा मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशालाक्षेत्रमा आर्थिक गतिविधि बढ्ने गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजाप्रसाद साहले बताउनुभयो । मालपोतले सेवा सञ्चालनको तयारी गरेसँगै जिल्लाको पश्चिमी क्षेत्रका सर्वसाधारणले सहज रुपमा सेवा पाउने आशा गरेका छन् । कार्यालयले हालको गौशाला र औरही नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here